बागमती कप क्रिकेटः चितवनको प्रभावशाली जित, मकवानपुर ५४ रनले पराजित

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

हेटौँडा–६ स्थित गौरीटार क्रिकेट मैदानमा सुरु भएको बागमती कप टी–२० क्रिकेट प्रतियोगितामा चितवनले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोली मकवानपुरलाई ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ब्याटिङ र बलिङ दुवैमा सन्तुलित खेल प्रस्तुत गर्दै चितवनले प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषद् र मकवानपुर क्रिकेट संघको संयुक्त आयोजनामा आइतबार सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १०६ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । सुरुवाती चरणमा सामान्य लयमा देखिएको चितवनको इनिङ्सलाई प्रतीक श्रेष्ठ र प्रसन्न न्यौपानेले अन्तिमतिर आक्रामक बनाएका थिए ।

चितवनका प्रतीक श्रेष्ठले केवल १३ बलको सामना गर्दै ४ चौका र ३ छक्काको मद्दतमा विस्फोटक ४० रन बनाए। यस्तै, प्रसन्न न्यौपानेले ६ बलमै २४ रन जोड्दै टोलीको रन गति तीव्र बनाएका थिए। चितवनका लागि पवन थापाले २१ रन तथा सूर्यांशु कोइरालाले ९ रनको योगदान दिए। मकवानपुरका साकार गजुरेल, समीर चौलागाईँ, बिसाल फुँयाल र शुभ कंशाकारले समान एक-एक विकेट लिए ।

१०६ रनको लक्ष्य पछ्याएको मकवानपुरले सुरुदेखि नै दबाबपूर्ण ब्याटिङ गर्नुपरेको थियो । चितवनका बलरहरूको आक्रमक बलिङसामु मकवानपुरका ब्याट्सम्यान खुल्न सकेनन् । नियमित अन्तरालमा विकेट गुमाएको मकवानपुरले निर्धारित ८ ओभरमा ४ विकेट गुमाएर जम्मा ५२ रन बनाउन सक्यो ।

मकवानपुरका लागि गोकुल अधिकारीले सर्वाधिक १७ रन बनाए भने विशाल भुसालले १३ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । चितवनको जितमा ब्याटिङ र बलिङमा चम्किएका प्रतीक श्रेष्ठले २ ओभरमा मात्र ६ रन खर्चेर ३ विकेट लिँदै मकवानपुरको ब्याटिङ धराशायी बनाएका थिए । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका प्रतीक श्रेष्ठ खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) बाट आधिकारिकता पाएका बागमती प्रदेशका ६ वटा जिल्लाहरू मकवानपुर, चितवन, नुवाकोट, ललितपुर, भक्तपुर र काठमाडौंको सहभागिता रहेको छ। प्रतियोगिता जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।

सुझावित समाचार