रामेछाप नगरपालिका–८, भालुखोपमा रहेको कृषि उपज संकलन केन्द्रको भवन व्यवस्थापन समितिको लापरबाहीले बन्द हुँदा किसान मारमा परेका छन्।
नगरपालिकाको ओख्रेनी, गाईटार, भालुखोपलगायतका स्थानका किसानहरूले उत्पादन गरेको तरकारी, फलफूल, गेडागुडी, जुनार, सुन्तलालगायतका कृषि उपज संकलन गर्नका लागि चार वर्षअघि निर्माण गरिएको कृषि उपज संकलन केन्द्रको भवन बेवारिसे अवस्थामा पुगेको हो। कृषि समितिमा रहेका पदाधिकारीहरूले खासै चासो नदिएका कारण समस्या उत्पन्न भएको हो।
किसानहरूले उत्पादन गरेको कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन समस्या भएपछि उत्पादित वस्तुहरू एक ठाउँमा जम्मा पार्ने र सवारीसाधनमार्फत बजारसम्म पुर्याउन सहज हुने भन्दै किसानहरूले संकलन केन्द्रको माग गरेका थिए। सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारमार्फत सञ्चालित तत्कालीन गरिबी निवारण कोषबाट ६ लाख ९६ हजार ६ सय २१ रुपैयाँ, स्थानीय जुनार जुस उद्योग सञ्चालकको २४ लाख ५४ हजार रुपैयाँ र स्थानीय जनश्रमदान १ लाख ५० हजार गरी कुल ३३ लाख ६२१ रुपैयाँको लागतमा उक्त भवन निर्माण भएको थियो।
भवन निर्माणपछि केही समयसम्म किसानहरूले उत्पादन गरेको कृषि उपज केन्द्रमा जम्मा गर्दै आएका थिए। सबै किसानहरूले आफूले उत्पादन गरेको कृषि सामग्रीहरू संकलन केन्द्रमा जम्मा गर्ने र त्यहीँबाट पुरानो सदरमुकाम रामेछाप बजार, मन्थली बजारसम्म बिक्रीका लागि लैजाने गर्दथे। तर, अहिले कृषि उपज संकलन केन्द्रको नाममा गठित समितिका पदाधिकारीको बेवास्ताका कारण किसानहरू कृषि उपज आफैँ बजारसम्म लैजान बाध्य छन्।
भवन निर्माण भएपछि कृषि वस्तु संकलन गर्ने र एकैपटक बजारसम्म लैजाने किसानको सपना अधुरै रहेको रामेछाप–७ का किसान लालबहादुर तामाङले बताए। उनले भने, ‘समितिमा बस्ने पदाधिकारीको चरम लापरबाहीका कारण सामान्य किसानहरूले भवनको सही तरिकाले उपभोग गर्न पाएनन्।’
कृषि उपज संकलन केन्द्रको भवन अहिले ताल्चा लगाएर राखिएको छ। भवनको पछाडिको भाग बटुवा र गाईवस्तु चराउने गोठालाहरूका लागि शौच गर्ने थलो बनेको छ।