चिकित्सकहरूको छाता संस्था नेपाल चिकित्सक संघ (एनएमए)ले सरकारले बिरामीको उपचारमा लगाएको अतिरिक्त कर खारेजीको माग गरेको छ ।
क्यान्सर अस्पतालको सभाहलमा आयोजित पाँचौँ राष्ट्रिय स्वास्थ्य सम्मेलनको दोस्रो दिन सम्बोधनका क्रममा संघका नवनिर्वाचित अध्यक्ष डा. बन्द्री रिजालले तीन प्रतिशत अतिरिक्त करको व्यवस्था खारेज गर्न माग गरेका हुन् ।
नेपालका चिकित्सक संघले विगतमा सरकारले पाँच प्रतिशत अतिरिक्त सेवा शुल्क लिन खोज्दा विरोध गरेको थियो, त्यसपछि त्यो खारेज भयो, यसपटक पनि चिकित्सक संघले राज्यले तीन प्रतिशत उपचार कर जोडेकोमा विरोध गर्छ, राज्यले तीन प्रतिशत बिरामीलाई उपचार कर लगाउँदा बिरामीको लागि निकै ठुलो भार हुन्छ, यो तुरुन्त फिर्ता गर्नका लागि चिकित्सक संघको तर्फबाट आग्रह गर्दछु,’ उनले भने, ‘चिकित्सकहरूको मागलाई सम्बोधन गर्नुपर्छ, चिकित्सकीय पेसालाई विशिष्टीकृत पेसाका रूपमा राख्नुपर्छ, सोहीअनुसारको सेवा सुविधा राज्यले दिनुपर्छ, चिकित्सकहरूलाई श्रम शोषण गर्न पाइँदैन, तर चिकित्सकको श्रम मूल्यको विषयमा अहिलेको बजेटले नजरअन्दाज गरेको छ ।’ उनले चिकित्सकको सुविधाबारे बजेटमा व्यवस्था गरिएका सवाल सच्याउन अनुरोध गरे ।