राष्ट्रिय सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय सभाको आइतबारका लागि बोलाइएको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। बिहान सवा ११ बजेका लागि तय गरिएको बैठक करिब एक घण्टा ढिलो सुरु भए पनि विधेयकमाथिको छलफल अघि नबढ्दै स्थगन गरिएको हो।

बैठकमा शून्य समय सञ्चालन गरिएको थियो, जहाँ केही सांसदहरूले समसामयिक विषयमा धारणा राखेका थिए। त्यसपछि सभाध्यक्ष नारायण दाहालले विशेष समय नराखिएको जानकारी दिँदै २० मिनेटका लागि बैठक स्थगित गरेका थिए।

आजको कार्यसूचीमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो। सोही बैठकबाट उक्त विधेयक पारित गर्ने कार्यसूचीसमेत तय गरिएको थियो।

यसैगरी, प्रतिनिधिसभाबाट पारित भई आएको ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ लाई पनि आजै पारित गर्ने तयारी रहेको थियो। तर, दुवै विधेयकमाथि परेका संशोधन प्रस्तावका विषयमा दलहरूबिच सहमति जुट्न नसक्दा बैठक अगाडि बढ्न सकेन।

संसद् स्रोतका अनुसार विधेयकमा परेका संशोधनबारे सरकार र विभिन्न दलबिच संवाद जारी रहेकाले बैठक स्थगित गरी सहमतिको प्रयास गरिएको हो। राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले छलफल गरिरहेकी छिन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन संशोधन विधेयक र मतदाता नामावली संशोधन विधेयकमा तीन–तीनवटा संशोधन प्रस्ताव दर्ता भएका छन्। ती संशोधनमा सहमति जुटेपछि मात्र विधेयकलाई अघि बढाउने तयारी गरिएको बताइएको छ।

सुझावित समाचार