बजेटले फर्निचर तथा फर्निसिङ क्षेत्रका समस्या समाधान गर्न खोजेको छ : अध्यक्ष अग्रवाल

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटबाट नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्र आशावादी भएको बताइएको छ । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसाय महासंघको ११औँ वार्षिक साधारणसभा तथा छैटौँ महाधिवेशनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले यस्तो बताएका हुन् । ‘आगामी आवको बजेटले यस उद्योगले भोग्दै आएको प्रमुख समस्यालाई निदान गर्न खोजेको महसुस भएको छ,’ उनले भने, ‘वन संरक्षण र औद्योगिक कच्चा पदार्थको आवश्यकताबिच सन्तुलन कायम गरी व्यवस्थित काठ आपूर्ति नीति लागू गर्नुपर्छ ।’

फर्निचर क्षेत्रलाई मुलुकको औद्योगिक विकास, आर्थिक गतिविधि विस्तार तथा रोजगारी सिर्जनाको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘फर्निचर तथा फर्निसिङ उद्योगलाई केवल कुर्सी, टेबल वा सोफा उत्पादन गर्ने क्षेत्रका रूपमा मात्र नभई निर्माण, पर्यटन, होटेल व्यवसाय, आवास, शैक्षिक संस्था तथा कार्यालय व्यवस्थापनसँग प्रत्यक्ष रूपमा जोडिएको रणनीतिक उद्योगका रूपमा लिनुपर्छ,’ उनले भने ।

स्थानीय काठ, बाँस, धातु, कपडा, फोम, ग्लासलगायतका कच्चा पदार्थमा मूल्य अभिवृद्धि गरी हजारौँ नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गर्न फर्निचर उद्योगले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो । तीव्र सहरीकरण, नयाँ घर निर्माण, होटेल तथा रिसोर्ट विस्तार, कार्यालयहरूको आधुनिकीकरण तथा जीवनशैलीमा आएको परिवर्तनसँगै फर्निचर तथा इन्टेरियर बजारको सम्भावना अत्यन्त ठुलो रहेको उनको धारणा थियो । सही नीति, प्रविधि र लगानीमैत्री वातावरण निर्माण गर्न सके यो क्षेत्र नेपालकै प्रमुख उद्योगमध्ये एक बन्न सक्ने उनको भनाइ थियो ।

अध्यक्ष अग्रवालका अनुसार उद्योगले हाल कच्चा पदार्थ अभाव, उत्पादन लागत वृद्धि, बैंक ब्याजदर तथा वित्तीय पहुँचको समस्या झेलिरहेको छ । ‘दक्ष जनशक्तिको कमी, विदेशी उत्पादनसँगको अस्वस्थ प्रतिस्पर्धा, आधुनिक प्रविधिको सीमित प्रयोग, ढुवानी तथा ऊर्जा लागत वृद्धि, अव्यवस्थित बजार र ब्रान्डिङको कमजोरीजस्ता चुनौती यो क्षेत्रले सामना गरिरहेको छ,’ उनले भने । 

See More On

सुझावित समाचार