इरान–अमेरिका सम्झौता घोषणामा विलम्ब

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न इरानसँगको सम्झौतामा ‘अन्तिम निर्णय’ गर्ने बताएका छन् । युद्ध अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाबबिच ट्रम्पको भनाइ आएको हो । अन्तिम निर्णय गर्न दुई देशबिच सन्देश आदानप्रदान भइरहेको इरानले स्वीकार गरेको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सन्देशको आदानप्रदान जारी रहेको र समझदारीलाई अन्तिम रूप दिइएको बताए । यसअघि, इरानका शीर्ष वार्ताकार मोहम्मद बाघेर गालिबाफले अमेरिकासँगको सम्झौता चाँडै सार्वजनिक गरिने बताएका थिए । दुवै देशले सम्झौता घोषणा गर्ने भनेर बताए पनि सार्वजनिक हुन सकेको छैन । 

राष्ट्रपति ट्रम्पले शुक्रबार इरानसँग युद्धविराम विस्तार गर्ने सम्बन्धमा ‘अन्तिम निर्णय’ गर्न शुक्रबार शीर्ष सहयोगीसँग बैठक गरेका थिए, तर स्पष्ट निस्कर्षविना नै यो बैठक गरे पनि त्यो निष्कर्षविना सकिएको छ । उनले इरानले कहिल्यै आणविक हतियार वा बम राख्न नपाउने, हर्मुजको जलमार्गलाई ‘दुवै दिशामा विनाअवरोध पुनः खोल्न र जलमार्गमा रहेका कुनै पनि खानी ‘नष्ट’ गर्न सहमत हुनुपर्ने बताएका थिए । बैठक ह्वाइट हाउसको सिचुएसन रुममा भएको थियो, जुन ठुलो संकटको सामना गर्न प्रयोग गरिन्छ । अमेरिकी अधिकारीहरूका अनुसार बिहीबार दुई देशले ट्रम्प र इरानको नेतृत्वको अनुमोदनका लागि सम्झौताको ढाँचामा सहमति जनाएका थिए, जसलाई समझदारी पत्र भनिन्छ । यो सम्झौताले ६० दिनका लागि युद्धविराम लम्ब्याउने र इरानको आणविक कार्यक्रमको भविष्यमा वार्ता सुरु गर्ने बताइएको छ ।

सैन्य बलले लेबनानको लिटानी नदीभन्दा बाहिर आफ्नो आक्रमणलाई अगाडि बढाएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताए । लिटानी लेबनानी–इजरायली सीमाबाट लगभग ३० किलोमिटर टाढा छ । इजरायली आक्रमणमा दर्जनौँ लेबनाली हताहत भएको रिपोर्ट छ । संयुक्त राष्ट्रसंघीय बालकोष, युनिसेफले लेबनानमा एक साताको आक्रमणमा १५ बालबालिकाको मृत्यु भएको र ६२ जना घाइते भएको बताएको छ । यसले बालबालिकाको मृत्यु हुने संख्यालाई ‘आश्चर्यजनक’ भनेको छ ।

See More On

सुझावित समाचार