अदालतले अब अनलाइनबाट पनि बयान लिन सक्ने

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण
  • प्रतिवादी विदेशमा रहेको एक मुद्दामा सर्वोच्चको आदेश– न्याय सम्पादनका लागि सम्बन्धित दूतावासमार्फत उपयुक्त विधि वा प्रक्रिया तोक्ने अन्तर्निहित अधिकार अदालतलाई छ ।

सर्वोच्च अदालतले सूचना प्रविधिको विकासलाई सदुपयोग गर्दै न्याय सम्पादन प्रक्रियामा श्रव्यदृश्य (अनलाइन)मार्फत बयान लिन सकिने नयाँ नजिर दिएको छ । प्रतिवादी विदेशमा रहेको भ्रष्टाचारको एक मुद्दामा आदेश दिँदै सर्वोच्चले सम्बन्धित दूतावासमार्फत उपयुक्त विधि र प्रक्रिया तोक्ने अन्तर्निहित अधिकार अदालतलाई भएको स्पष्ट पारिदिएको हो ।

गलत लिखत तयार गरी भ्रष्टाचार गरेको अभियोग लागेकी सभ्यता केसीको बयान लिने विषयमा विशेष अदालतका न्यायाधीशहरूबिच राय बाझिएपछि विवाद सर्वोच्च पुगेको थियो । अस्ट्रेलियामा रहेकी उनको ‘अनलाइन’बाट बयान लिन नसकिने आदेश विशेषले गरेको थियो । त्यसपछि केसीले ‘बेरितको आदेश बदर गरिपाऊँ’ भन्दै सर्वोच्चमा निवेदन गरेकी थिइन् । उक्त निवेदनमा फैसला दिँदै सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको इजलासले सातबुँदे आदेशसहित श्रव्यदृश्य संवादबाट बयान तथा थुनछेक कार्य गराउन अनुमति दिएको हो । 

फैसलामा भनिएको छ, ‘...प्रचलित कानुनमा कुनै विषय वा स्पष्टता नभएमा वा प्रक्रियागत रूपमा कुनै द्विविधा उत्पन्न भएमा सम्बन्धित अदालतले स्रोत–साधनको प्रयोग गरी निकासा निकाल्नुपर्दछ । प्रस्तुत मुद्दाको हकमा विशेष अदालतले न्याय सम्पादन गर्नका लागि सम्बन्धित दूतावासलाई आदेशमार्फत उपयुक्त विधि वा प्रक्रिया तोक्न सक्ने अन्तर्निहित अधिकार सुरक्षित रहेको अवस्थामा प्रविधिको समसामयिक र उच्चतम प्रयोगलाई विस्तार गरी त्यसको उदार व्याख्या गर्दै न्यायलाई यथाशक्य रूपमा पहुँचयोग्य बनाउनु अदालतको प्राथमिक कर्तव्य मान्नुपर्ने देखिन्छ ।’

सर्वोच्चले प्रविधिको विकास र समाजको आवश्यकताअनुसार नै कानुन र अदालत पनि गतिशील हुनुपर्ने व्याख्यासमेत गरेको छ । ‘...समयसँगै समाजमा आउने परिवर्तन र प्रविधिको विकासलाई राज्यले सामान्यीकरण गरी कानुनी मान्यता प्रदान गर्नुपर्दछ । नेपाली समुदायको विदेशमा भएको बसोबासको विश्वव्यापी विस्तार र सूचना प्रविधिको तीव्र विकासले न्याय प्रणालीसमक्ष नयाँ परिस्थितिहरू सिर्जना गरेको अवस्थामा प्रविधिको विकास र समाजको आवश्यकताअनुसार नै कानुन र अदालत पनि गतिशील भई कार्य सम्पादन गर्नुपर्ने देखिन्छ,’ फैसलामा छ । 

केसीले अस्ट्रेलियास्थित दूतावासमा तोकिएको समयमा उपस्थित भई अदालतमा भिडियो कन्फरेन्समार्फत सुनुवाइ सञ्चालनसम्बन्धी निर्देशिकाको अधीनमा रही दूतावासकै समन्वयमा बयान गर्नुपर्ने आदेशमा छ । पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने आदेश भएमा मात्र कूटनीतिक समन्वय गरी नेपाल पठाउन कानुनी प्रक्रिया अगाडि बढाउन आदेशमा भनिएको छ । सुरक्षित लिंकको प्रयोग गरी बयान रेकर्ड गर्ने तथा सुरक्षित राख्न र अनधिकृत रेकर्डिङ वा फोटो खिच्ने कार्य निषेध गर्नसमेत आदेश भएको छ । 

परराष्ट्र मन्त्रालयमार्फत वा नेपाली राजदूतावासको सम्पर्क नम्बर वा इमेलमा मिटिङ आइडी पासवर्डको विवरण गोप्य तथा सुरक्षित रूपमा पठाई महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय तथा कूटनीतिक माध्यमबाट दूतावासलाई आदेशको जानकारी दिन भनिएको छ । विशेषबाट २३ साउन ०८२ मा श्रव्यदृश्य बयान गराउन इन्कार गरिएको आदेश विधायिकी मनसाय र आधुनिक तथा विकसित प्रविधिको प्रयोग अनुकूल नरहेको भन्दै बदर गरिदिएको छ । सर्वोच्चको यो फैसलाले न्यायिक प्रक्रियामा नयाँ नजिर स्थापित गरिदिएको छ । 

सर्वोच्चले बयान मात्र नभई अदालतको आदेशबमोजिम धरौटी वा जमानत बुझाउनुपरे सम्बन्धित दूतावासको आधिकारिक खातामा जम्मा गर्न सक्ने वा कानुनी वारेसमार्फत अदालतमा रकम दाखिला गराउन सक्ने आदेश गरेको छ । थुनामा राख्ने आदेश भएमा कूटनीतिक माध्यमबाटै सम्बन्धित देशको अध्यागमन वा सुरक्षा अधिकारीसँग समन्वय गर्न सकिने पनि आदेशमा छ । साथै, आदेश कार्यान्वयन नभएमा अभियुक्त वा फरार प्रतिवादी भए राहदानी रोक्का वा खारेज गरी विदेश बसाइ गैरकानुनीसम्म बनाउन सकिने तर विदेश रहेकै आधारमा मात्र आफ्नो सफाइ पेस गर्ने र सुनुवाइको मौका नदिने गर्नु अनुचित हुने ठहर गरेको छ । 

‘अदालतमा श्रव्यदृश्य प्रणालीको प्रयोगले सरोकारवालालाई भौतिक रूपमा अदालतमा उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत गर्न सक्दछ । जसले विशेषगरी विदेशमा रहेका नेपालीहरूलाई ठुलो राहत पुर्‍याउँदछ,’ हालको अवस्था चित्रण गर्दै अदालतले भनेको छ । प्रविधिको बढ्दो प्रयोगले भौगोलिक सीमालाई संकुचित गरिरहेको अवस्थामा सूचना प्रविधिप्रतिको साक्षरता र उपभोगलाई न्याय सम्पादनको सहजताका लागि उपयोग गर्नु नेपालका अदालतहरूको सुधारात्मक कदम हुने सर्वोच्चको ठहर छ । 
 

See More On

सुझावित समाचार