धनकुटामा सम्पन्न १८औँ संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको बेलबारी फुटबल क्लबले जितेको छ। धनकुटा–५ को तल्लो टुँडिखेलमा शनिबार सम्पन्न भएको फाइनल खेलमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान फुटबल क्लब धनकुटालाई सडन डेथमा ६–५ गोल अन्तरले पराजित गर्दै बेलबारी फुटबल क्लबले उपाधि हात पारेको हो।
बेलबारीका लागि विदेशी खेलाडी मोटिभ, सोलोमन किङ, विशाल थिङ, श्याम मुरुर र शिशिर लेखीले गोल गरे। विवेक पौडेलको प्रहारलाई भने धनकुटाका गोलरक्षकले बचाएका थिए। त्यस्तै, धनकुटाका लागि विदेशी खेलाडी प्रिसो, विवेक गुरुङ, फेमी र होलेमी टावले गोल गरेका थिए । राम बाजी र पृथ्वी चौधरीको प्रहारलाई भने बेलबारीका गोल किपरले रोक्न सफल भए।
बेलबारी फुटबल क्लबले उपाधि जितेसँगै नगद ६ लाख, मेडल र ट्रफी हात पारेको छ भने उपविजेता बनेको आयोजक धनकुटाले नगद ३ लाखमा चित्त बुझायो। निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो। टाइब्रेकरमा पनि दुवै टोली बराबरीमा रोकिएपछि विजेताको टुंगाे सडन डेथबाट लगाइएको थियो । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी धनकुटाका पदम भट्टराई घोषित भए।
उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। त्यस्तै, हाई स्कोरर बेलबारीका सलमान किङ घोषित भए। उनले नगद ११ हजार पाँच रुपैयाँ पुरस्कार प्राप्त गरे। बेस्ट डिफेन्डर बेलबारीका महेन्द्र कार्की भए। उनले ११ हजार पाँच रुपैयाँ पुरस्कार प्राप्त गरे। सहिद भीमनारायण श्रेष्ठको सम्झनामा २०५५ सालदेखि सुरु गरिएको उक्त फुटबल प्रतियोगिता कोरोना कालमा केही वर्ष स्थगित भए पनि हरेक वर्ष निरन्तर सञ्चालन हुँदै आएको छ।