‘साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, बागमती सभ्यताको संवर्द्धन’ भन्ने मूल नारासहित बागमती साहित्य महोत्सव–२०८३ (दोस्रो संस्करण) शुक्रबारदेखि चितवनमा सुरु भएको छ। बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको संयोजनमा नारायणगढस्थित चितवन उद्योग वाणिज्य संघको सभाहलमा महोत्सव सुरु भएको हो।
दुई दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गरे। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले नेपाली साहित्य विश्वमै समृद्ध र गौरवशाली रहेको उल्लेख गरे। उनले महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल तथा माधवप्रसाद घिमिरेलगायतका स्रष्टाले नेपाली साहित्यलाई उचाइमा पुर्याएको चर्चा गर्दै नयाँ पुस्ताका साहित्यकार, कलाकार र सर्जकहरू पनि साहित्यको समृद्धिमा सक्रिय रहेको बताए।
उद्घाटन सत्रमा विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए। कार्यक्रममा रचनावाचन, शुभकामना मन्तव्यका साथै नेपालका विविध जातजातिको संस्कृति झल्काउने झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो। थारू समुदायको घैला नाच, नेवारी नृत्य, तामाङ, मगर तथा थारू समुदायका सांस्कृतिक प्रस्तुति र सारंगीको धुनले सहभागीलाई आकर्षित गरेको थियो।
महोत्सवमा साहित्य, संस्कृति, पर्यटन तथा बागमती सभ्यताको संरक्षण र प्रवर्द्धनसँग सम्बन्धित विभिन्न विषयमा अन्तर्क्रिया, छलफल तथा विमर्श कार्यक्रम आयोजना गरिने भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष प्राडा नारायणप्रसाद खनालले बताए। बागमती प्रदेशका १३ वटै जिल्लाका साहित्यकार, कलाकार, संस्कृतिकर्मी, अनुसन्धानकर्ता तथा सरोकारवालाको सहभागिता रहेको महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ।
डिभिजन वन कार्यालय भरतपुर चितवनका प्रमुख एवं महोत्सवका योजनाकार विष्णुप्रसाद आचार्यका अनुसार बागमती प्रदेशको सांस्कृतिक विविधता, भाषा–साहित्य र मौलिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै नयाँ पुस्तामा साहित्य र संस्कृतिप्रति आकर्षण बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।