स्वास्थ्यका सवालमा तीन तहका सरकारबिच समन्वय नहुँदा स्वास्थ्य सेवा प्रवाहमै कठिनाइ हुने गरेको सम्बद्ध सरोकारवालाहरूले बताएका छन्। चितवनमा आयोजित पाँचौँ राष्ट्रिय स्वास्थ्य सम्मेलनमा उपस्थित तीनै तहका प्रतिनिधिहरूले आफूहरूबिच एकापसमा समन्वय नहुँदा स्वास्थ्यका कार्यक्रम छरिएको र अव्यवस्थित बनेको बताएका हुन्।
बागमती प्रदेश स्वास्थ्य स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले प्रदेश तहको भूमिका स्वास्थ्यकर्मी, स्थानीय तह र संघ सरकारले नबुझ्दा कतिपय स्वास्थ्यका कार्यक्रम कार्यान्वयनमा समस्या हुने गरेको बताइन्।
‘प्रदेश तहमा स्वास्थ्य सेवा प्रभावकारी बन्न सकिरहेको छैन, कानुनमा प्रदेश सरकारलाई पनि विशिष्टकृत स्वास्थ्य सेवा प्रवाहको अधिकार दिए पनि व्यवहारमा लागू गर्न गाह्रो छ, कारण समन्वय नहुनु हो,’ डा. गौतमले भनिन्, ‘नसर्ने रोगमा तीन सरकारका कार्यक्रम तीनतिर छन्, संघ सरकारले फागुनमा नसर्ने रोगविरुद्धको अभियान सञ्चालन गर्छ, पालिका र स्थानीय तहमा त्यो कार्यक्रम एकैसाथ सञ्चालन हुँदैन, समन्वय नहुनुको गतिलो उदाहरण यो हो।’
नेपाल चिकित्सक संघ (एनएमए) का अध्यक्ष डा. अनिलविक्रम कार्कीले स्वास्थ्यका मुद्दामा केन्द्र, प्रदेश र स्थानीय सरकार अझै अलमल्लिएको बताउँदै तीनै तहका सरकारले नमिल्दासम्म स्वास्थ्यको समस्या समाधान नहुने बताए । ‘स्वास्थ्य क्षेत्रमा समन्वय नहुनु दुःखद हो, अझ कतिपय स्वास्थ्य कार्यक्रमलाई आत्मसाथ गरिएको छैन,’ उनले भने, ‘मन्त्रालयले कर मात्रै उठाउने होइन सेवा पनि राम्रो बनाउनुपर्छ, स्वास्थ्य बिगार्ने वस्तुबाट उठाएको कर स्वास्थ्यमै खर्च गर्नुपर्छ।’ उनले स्वास्थ्य क्षेत्र सुधार र समन्वयको लागि स्वास्थ्य मन्त्रालयले गठन गरेको स्वास्थ्य समितिको बैठक नबस्नु दुभाग्र्यपूर्ण रहेको बताए।
स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले तीन तहका सरकारबिच समन्वय आवश्यक रहेको भन्दै केन्द्रले समन्वयकारी भूमिका निर्वाह गरेको बताए। ‘प्रदेशले स्वास्थ्यकर्मीलाई तालिम दिने र समन्वय गर्ने हो, जिल्ला अस्पतालहरूलाई व्यवस्थित गराउन सहजीकरण गर्ने हो,’ उनले भने, ‘आगामी आर्थिक वर्षमा ३३६ अस्पताल निर्माण भइसक्छन्, यस वर्षदेखि नर्स, मेडिकल अधिकृत र विशेषज्ञ चिकित्सक बढाउने गरी दरबन्दी थपेका छौँ।’
चितवनमा आयोजित दुईदिने सम्मेलनमा देशभरका चिकित्सकहरू सहभागी छन् भने भारतबाट पनि चिकित्सक प्रतिनिधिहरू सहभागी भएका छन्। नेपालको स्वास्थ्य प्रणाली सुधार, स्वास्थ्यमा एआई तथा प्रविधिको प्रयोग, नसर्ने रोगको भयावह अवस्था, वर्तमानमा भइरहेका उपचारात्मक अभ्यास र भविष्यमा गर्नैपर्ने कार्यका बारेमा सम्मेलनमा छलफल भइरहेको छ।