हेटौँडा काठमाडौं जोड्ने कान्ति लोकपथअन्तर्गत मकवानपुर र ललितपुर जोड्ने बागमती खोलामा निर्माणाधीन पुलका लागि राखिएका निर्माण सामग्री बाढीले बगाउँदा करिब २२ लाख रुपैयाँबराबरको क्षति भएको छ।
बुधबार बिहान बागमती खोलामा आएको बाढीका कारण निर्माणाधीन पुलका लागि साइटमा राखिएका सामग्री बगाएको इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी नायब निरीक्षक प्रमोदप्रसाद साह तेलीले जानकारी दिए।
उनका अनुसार पुल निर्माणका लागि राखिएका रड, सिमेन्ट, फलामका पाइप, पानी तान्ने मोटर, भाइब्रेटर मेसिन, काठ, प्लास्टिकका फर्मा तथा वाटरप्रुफ प्लाइलगायतका निर्माण सामग्री बाढीले बगाएको हो।
निर्माण कम्पनीका इन्जिनियरका अनुसार बाढीले बगाएका सामग्रीको अनुमानित मूल्य करिब २२ लाख रुपैयाँ रहेको छ। बाढीले मकवानपुरतर्फ पुल जोड्ने पहुँच मार्गसमेत कटान गरी क्षति पुर्याएको छ। कटानका कारण सडकमा आवागमन प्रभावित भएको छ भने हाल उक्त सडकखण्डमा साना सवारीसाधन मात्रै सञ्चालन हुन सक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।
घटनामा कुनै मानवीय क्षति नभएको र क्षतिको यकिन विवरण संकलन तथा थप अनुसन्धानको कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। कान्ति लोकपथको महत्त्वपूर्ण संरचनाका रूपमा रहेको उक्त पुल निर्माणाधीन अवस्थामै बाढीबाट क्षति पुगेपछि निर्माण कार्यसमेत प्रभावित हुने देखिएको छ।