चर्चित साहित्यकार श्रवण मुकारुङको औपन्यासिक सिर्जना ‘सलह’ पढेपछि मनमा उत्पन्न भएका गहिरा तरंग अझै सेलाएका छैनन् । आख्यानलाई साहित्यको चास्नीमा डुबाएपछिको बेग्लै स्वाद चाख्न पाइन्छ यस उपन्यासमा । आफ्ना आदी पुर्खाहरूको इतिहासलाई प्रस्थानविन्दु बनाएर वर्तमान समयका अनेकौँ घटना, पात्र, चरित्र र परिवेशको रोमाञ्चक कोलाज प्रस्तुत गर्नु यस उपन्यासको आफ्नै विशेषता हो । उपन्यासको शब्द चयन र वाक्य संरचनामा काव्यात्मक अभिव्यञ्जनाको मिठो धुन सुन्न पाइन्छ । समाज, संस्कृति र प्रकृतिबाट टिपिएका उपमा र संवाद अत्यन्तै स्वादिला र चोटिला लाग्छन् । पात्रहरूको चरित्रचित्रण र पृष्ठभूमिको प्रस्तुति यति सशक्त एवम् जीवन्त छ कि उनीहरू सशरीर हाम्रै सामुन्ने हिँडडुल गर्दै आफ्नो भूमिका हामीलाई देखाउन तल्लीन छन् ।
भनिन्छ, कुनै पनि उपन्यास यथार्थ र कल्पनाको संयुक्त उपज हो । तिनलाई चित्ताकर्षक ढंगले प्रस्तुत गर्ने उपन्यासकारको खुबीले नै पाठकका मनमा त्यस कथाले गहिरो प्रभाव छोड्ने हो । कथामा देखापर्ने विविध पृष्ठभूमिका अनेकौँ पात्रसँग लेखकको अन्तरंग संवाद, तिनको मनोसंरचनाको अध्ययन र इतिहास, संस्कृति र समग्र समाजको गहिरो अनुसन्धानमा आधारित लेखनले उपन्यासको कथालाई सशक्त र अब्बल बनाउने हो । यसरी हेर्दा, गहिरो शोधबाट प्रचुर सामग्री नजुटाई यत्तिको उपन्यास लेख्न असम्भव छ ।
पूर्वी पहाडको राई गाउँ, त्यहाँको समाज, जीवनशैली, बोलीव्यवहार, मेलापर्व, मेलापात, मायापिरती, गाउँमा पस्दै गरेको माओवादी राजनीति र त्यसका प्रभावको सूक्ष्म विश्लेषणले उपन्यासको उठानलाई कौतुहलपूर्ण बनाएको छ । बिर्सँदै गएका गाउँहरू फेरि जीवन्त भएका छन् । तर, गाउँमा बस्न अप्ठ्यारो हुँदै गएजस्तो छनक पाइन्छ ।
राई गाँउमा जन्मिएकी उपन्यासको केन्द्रीय कथानक नायुमाको जीवन भोगाइको भेल र भंगालोमा वर्तमान समय र समाजका अरू अनेकौँ चरित्र र घटनाहरू मिसिन आइपुग्छन् । काठमाडौंको बैकुन्ठ कोलोनी त्यस कथानकसँग गाँसिएको त्यही शृंखलाको एउटा अंश हो । वैकुण्ठ कोलोनीभित्रका दृश्य र घटनाहरूले वर्तमान सहरिया जीवनशैलीका अनेकौँ आयामलाई सतहमा ल्याइदिएका छन् । यस्तो लाग्छ, समग्र समाज नै वैकुण्ठ कोलोनीमा प्रतिध्वनित भइरहेको छ ।
यस कोलोनीमा सेवा निवृत्त जीवन विताइरहेका सरकारी हाकिम, प्रोफेसर, ब्रिटिस लाहुरे र रेस्टुरेन्ट व्यवसायी काठमाडौंका रैथानेहरूको आफ्नै दुनियाँ छ । उनीहरू कोलोनीभित्र र देश दुनियाँका घटनाहरूमाथि आफ्नै धुनमा तासको पत्ती फिट्दै घत लाग्दा तर्कवितर्क र वादप्रतिवाद गर्छन् । बोतलहरू रित्याउँछन् । कोलोनीभित्र बेलाबखत उत्पन्न हुने आपसी झगडा मिलाउँछन् । प्रोफेसर माथेमाको कुरा गर्ने शैली र संवाद सुन्दा उनलाई कतै देखेजस्तो, सुनेजस्तो लागिरहन्छ । बौद्घिक तर्कका धनी प्रोफेसर माथेमा पाठकको मनमा उत्सुकता जगाइरहने एकजना रमाइला पात्र हुन्, जसलाई सहजै बिर्सन सकिँदैन ।
कोलोनीभित्र फरक संस्कृति र व्यावसायिक पृष्ठभूमि भएका विविध स्वभावका मानिस र परिवारका आ–आफ्नै कथाव्यथाहरू छन्, जसले पाठकलाई एकोहोरो बनाएर निरन्तर डोर्याइरहन्छ । वैकुण्ठ कोलोनी परित्याग गरेपछि सुरु हुन्छ नायुमाको विचित्रको जीवनयात्रा । अनेकौ प्रतिकूलतासँग जुझिरहने नायुमाको साहस भने सम्झनलायक छ ।
उपन्यासको आरम्भमा नै मृत्युपछि अनेकौँ जुनी फेर्दै सलहको जुनी पाएका होङ वंशकी राजकुमारीसँग लेखक स्वयंको संवाद र लेखककै हातबाट आफू मारिएर छिट्टै फेरि मानव जुनी प्राप्त गर्ने लालसाको प्रस्तुति निकै रोमाञ्चपूर्ण छ । उपन्यासमा केही पात्रहरू आश्चर्यलाग्दो मनोदशामा देखिन्छन् । सामाजिक व्यवहारका प्रतिकूल ठाउँठाउँमा तिनीहरू निकै बहकिन्छन् ।
लाग्छ, घटनालाई अलिक फरक रङमा रंग्याएर पाठकलाई वेग्लै मनोरञ्जन दिलाउने लेखकीय प्रयत्न होला त्यो । उपन्यासको अन्त्य जसरी गरिएको छ, त्यसमाथि विचार गर्दा अन्तिम अध्यायको लेखनमा उपन्यासकार निकै घोत्लिएको र केही असमन्जसमा परेको प्रतीत हुन्छ ।
विषयवस्तुको नवीनता र कल्पनाशिलताका दृष्टिले उपन्यास अब्बल छ । आजसम्म कसैले उठान नगरेका नितान्त नौलो आश्चर्यलाग्दा घटनाहरू र प्रस्तुतिकरणको चित्ताकर्षक शैलीले उपन्यासलाई समृद्घ बनाएका छन् । आगामी लेखनका लागि सम्भावनाका अजस्र ढोकाहरू उघ्रिएका छन् ।