नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुमवासी बस्ती हटाउने क्रममा राज्य संयन्त्रले अपनाएको व्यवहार कठोर र अमानवीय देखिएको बताएका छन् ।
शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘विस्थापनको व्याकुलता : सहरी सुकुमवासीको स्वास्थ्य तथा मनोसामाजिक संघर्षको विश्लेषण’ विषयक कार्यक्रममा बोल्दै उनले बस्ती खाली गराउने प्रक्रियामा पर्याप्त संवेदनशीलता नअपनाइएको टिप्पणी गरे ।
उनले बस्ती हटाउनुअघि प्रभावित परिवारलाई पर्याप्त समय, वैकल्पिक बसोबासको व्यवस्था तथा सहज स्थानान्तरणको अवसर दिनुपर्नेमा त्यसो नगरी बल प्रयोग गरिएको भन्दै राज्यको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको बताए ।
पौडेलले सम्बन्धित बस्तीमा बसोबास गर्ने सबै व्यक्ति भूमि अतिक्रमण गर्ने उद्देश्यले मात्र नभई राज्यले परिभाषित गरेका वास्तविक सुकुमवासी परिवारसमेत रहेको उल्लेख गरे ।
विस्थापनका क्रममा विद्यालय जाने बालबालिका, सुत्केरी महिला तथा दीर्घरोगी ज्येष्ठ नागरिकको अवस्थाप्रति राज्यले पर्याप्त ध्यान नदिएको आरोप पनि उनले लगाए ।
उनले वैकल्पिक बसोबास र मनोसामाजिक सहायताविनाको कारबाहीले प्रभावित परिवारमा गम्भीर मानसिक असर परेको उल्लेख गर्दै यस विषयमा नेपाली कांग्रेसले स्पष्ट धारणा सार्वजनिक गरिसकेको जानकारी दिए ।
महामन्त्री पौडेलले समस्या समाधानका लागि दीर्घकालीन र जिम्मेवार उपाय खोज्नुको सट्टा राज्य संयन्त्रले असंवेदनशील र लापरबाहीपूर्ण व्यवहार प्रदर्शन गरेको निष्कर्षसमेत व्यक्त गरे ।