७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र जोखिममा पर्दै गएको भन्दै हिमाल संरक्षणलाई राष्ट्रिय मात्र नभई विश्वव्यापी दायित्वका रूपमा लिनुपर्ने धारणा राखेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा पर्यटन विभागको संयुक्त आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले सगरमाथा केवल विजय गर्ने शिखर नभई मानव सभ्यताको आध्यात्मिक अनुभूति र साहसको प्रतीक भएको बताए।
उनले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालको हिउँ तीव्र गतिमा पग्लिरहेको उल्लेख गर्दै त्यसको असर पृथ्वीका तटीय क्षेत्रदेखि मानव जीवनसम्म पर्ने चेतावनी दिए। ‘सगरमाथा र अन्य हिमालहरू जोखिममा छन्। हिमालको उचाइभन्दा अझ माथि मानवताको चेतना हुनुपर्छ,’ उनले भने।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले जलवायु परिवर्तनको तीव्र असर हिमाली क्षेत्रमा देखिन थालेकाले हिमाल जोगाउनु आजको प्रमुख आवश्यकता भएको बताए। नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जेन शेर्पाले नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै नयाँ पर्यटन ऐन निजी क्षेत्रमैत्री हुनुपर्ने बताए।
पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले यस वर्षको वसन्त आरोहण सिजनमा सगरमाथासहित विभिन्न हिमाल आरोहणका क्रममा विदेशी आरोही तथा नेपाली शेर्पा गाइड गरी सातजनाले ज्यान गुमाएको जानकारी दिए। उनले पर्वतीय पर्यटनको संरक्षण, विकास, व्यवस्थापन र प्रवर्द्धनसँगै नयाँ सोच, अध्ययन र अनुसन्धानको समीक्षा गर्ने अवसरका रूपमा सगरमाथा दिवसलाई लिनुपर्ने बताए।
कार्यक्रममा सगरमाथा आरोहण, खोज तथा उद्धार, अध्ययन–अनुसन्धान र पर्वतीय पर्यटन क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई विभिन्न पुरस्कार प्रदान गरिएको थियो।