दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको बाँधमा वियर गेट जडान तथा परीक्षण सञ्चालन सफलतापूर्वक सम्पन्न भएको छ । कोरियाली कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत निर्माणाधीन आयोजनाको हाइड्रो–मेकानिकलतर्फको संरचनाअन्तर्गत तीनवटा वियर गेटमध्ये एउटाको जडान तथा परीक्षण सञ्चालन सम्पन्न गरिएको हो ।
प्रतिनिधिसभा सदस्य मोहन आचार्य, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतम, कोरियन साउथ–इस्ट पावर कम्पनी (कोएन)का कार्यकारी उपसभापति योङ कि ली, नेपालका लागि कोरियाली राजदूत पार्क ताएयोङ, विद्युत् विकास विभागकी महानिर्देशक मनदेवी श्रेष्ठलगायतको उपस्थितिमा बिहीबार आयोजित कार्यक्रममा जडान तथा परीक्षण गरिएको हो । नदीको पानीको बहावलाई नियन्त्रण गरी विद्युत् उत्पादनका लागि सुरुङतर्फ मोड्ने, बाँधमा पानीको सतह कायम राख्ने तथा अतिरिक्त पानीलाई सुरक्षित रूपमा नदीमा निकास गर्ने कार्य वियर गेटमार्फत गरिन्छ । प्राविधिक मापदण्डअनुसार गेट जडान तथा सञ्चालन सम्पन्न भएसँगै आयोजनाको निर्माणकार्यले थप गति लिने तथा लक्षित समयमै आयोजना सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सांसद मोहन आचार्यले प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भइरहेको आयोजना समयमै सम्पन्न गर्न आफ्नोतर्फबाट पूर्ण साथ र सहयोग रहने बताए । मन्त्रालयका सहसचिव सागरराज गौतमले वियर गेट जडान सफलतापूर्वक सम्पन्न हुनु आयोजनाका लागि महत्वपूर्ण प्राविधिक उपलब्धि भएको बताए । कोएनका कार्यकारी उपसभापति योङ कि लीले आयोजनालाई अनुमानित लागत र समयमा सम्पन्न गर्न कम्पनीले विशेष ध्यान दिएको बताए । नेपालका लागि कोरियाली राजदूत पार्क ताएयोङले कोरियाली सरकारको स्वामित्वमा रहेको कम्पनीको अगुवाइमा निर्माण भइरहेको आयोजना सम्पन्न भएपछि नेपाल–कोरिया ऊर्जा सहकार्य नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरे ।
आयोजनाको प्रवर्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत सोनुङ किमले निर्धारित समयभित्र आयोजना सम्पन्न गर्ने बताए । कोरियन कम्पनीहरूको अगुवाइमा निर्माण भइरहेको यस आयोजनाको बाँध तथा सम्बन्धित संरचनाहरू रसुवाको आमाछोदिङ्मो गाउँपालिका– १, हाकु क्षेत्रमा तथा भूमिगत विद्युत्गृह उत्तरगया गाउँपालिका– १ मा निर्माण भइरहेको छ । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली– १ आयोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठुलो जलविद्युत् आयोजना हो ।
आयोजनाको मुख्य निर्माणकार्य ०७८ साल पुस महिनादेखि सुरु गरिएको थियो । हाल ९.५ किलोमिटर लामो मुख्य सुरुङ खन्ने कार्य सम्पन्न भई कंक्रिट लाइनिङ भइरहेको छ भने जटिल मानिएको दुई सय ९२ मिटर लामो ठाडो सुरुङ खन्ने कार्य सफलतापूर्वक सम्पन्न भइसकेको छ । विद्युत्गृहको सिभिल संरचना निर्माण सम्पन्न गरी टर्बाइन, जेनेरेटरलगायत इलेक्ट्रो–मेकानिकल उपकरण जडान कार्य जारी रहेको छ ।
उपकरण जडान सन् २०२६ डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको समग्र भौतिक प्रगति हाल ८२ प्रतिशत पुगेको छ । सन् २०२४ र २०२५ मा त्रिशूली नदीमा आएको बाढीका कारण निर्माणकार्य प्रभावित भए पनि सन् २०२७ को मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणकार्य जारी रहेको छ । इन्जिनियरिङ, खरिद तथा निर्माण इपिसी ढाँचामा डुसान एनरबिलिटीले निर्माण गरिरहेको छ ।
आयोजनाबाट वार्षिक एक अर्ब ५३ करोड ३१ लाख युनिट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ । उत्पादित विद्युत्मध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको त्रिशूली–३ बी हब सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । कम्पनी र नेपाल विद्युत् प्राधिकरणबिच विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।