कोशी प्रदेश सरकारले सत्ताधारी दलको भागबन्डा गर्दै प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिव र पदाधिकारीहरू नियुक्त गरेको छ । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत प्रदेश खेलकुद विकास बोर्ड ऐन, २०८१ लाई संशोधन गराएर भागबन्डाका आधारमा सदस्यसचिव र पदाधिकारीहरू सत्ताधारी दलको राजनीतिक भागबन्डाका आधारमा नियुक्त गरेको हो ।
बोर्डको कार्यकारी रहने सदस्यसचिव पदमा सत्ताधारी दल एमालेको तर्फबाट सुनसरी इनरुवाका कराँतेका खेलाडी विप्लव घोष नियुक्त भएका छन्। उनलाई एमालेका सामाजिक विकासमन्त्री रामप्रसाद मेहताले चार वर्षका लागि सदस्यसचिव पदमा नियुक्त गरेका हुन् ।
एमाले र कांग्रेस सहभागी कोशी प्रदेशको गठबन्धन सरकारमा सामाजिक विकास मन्त्रालय एमालेको भागमा रहेको छ। यसैगरी सरकारले खेलकुद विकास बोर्ड अध्यादेशमार्फत संशाेधन गराएपछि समितिमा नयाँ पदाधिकारीहरू पनि नियुक्त गरेको छ।
कोशी प्रदेश सरकारमा सत्तागठबन्धनमा रहेका दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसले राजनीतिक भागबन्डाका आधारमा प्रदेश खेलकुद विकास बोर्डमा सदस्यसचिवसहित ११ जना पदाधिकारी तथा सदस्यहरू नियुक्त गरेको हो । सामाजिक विकासमन्त्री रामप्रसाद महतोले एमालेबाट पाँच र कांग्रेसबाट ६ जना रहने गरी बोर्डमा पदाधिकारी र सदस्यहरू नियुक्त गरेका छन्।
बोर्डको महिला उपाध्यक्षमा एमालेबाट विराटनगरकी सन्तोषी श्रेष्ठ र पुरुष उपाध्यक्षमा नेपाली कांग्रेसका वसन्त अर्याल नियुक्त भएका छन् । बोर्डका सदस्यहरूमा एमालेका तर्फबाट विराटनगरकी बिना बस्नेत, केशव भट्टराई र किशोरविक्रम साह र कांग्रेसको कोटाबाट टीकाराम पुरी, दुर्गा कठायत र बालजित राई नियुक्त भएका छन्।
कोशी प्रदेश सरकारले सत्तासाझेदार दलका कार्यकर्ता भागबन्डामा नियुक्त गराउनकै लागि एक हप्ताअघि मात्रै प्रदेश खेलकुद ऐन संशोधन गराएको थियो। अध्यादेशमार्फत संशाेधन गरिएको ऐनमा खेलकुद बोर्डका समितिहरूको संख्या १५ जनाबाट बढाएर २५ जना पुर्याइएको थियो। कोशी प्रदेश खेलकुद विकास बोर्डमा गत भदौदेखि सदस्यसचिव र पदाधिकारीहरूको पद रिक्त थियो ।