चालू आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार ५१३ अमेरिकी डलर कायम छ । यो गत वर्ष एक हजार ५१६ थियो । तर, कुल राष्ट्रिय आयको आधारमा हेर्ने हो भने प्रतिव्यक्ति आम्दानी एक हजार ५३५ डलर कायम रहने अनुमान छ जुन गत वर्षबराबर नै हो । यसमा रेमिट्यान्सको समेत आम्दानी गणना हुन्छ ।
त्यस्तै, प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय दुई हजार ४४ पुग्ने अनुमान छ । प्रदेशगत रूपमा तुलना गर्दा चालू आर्थिक वर्षमा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा बढी दुई हजार ६४४ डलर र मधेश प्रदेशको सबैभन्दा कम ९३४ अमेरिकी डलर रहने अनुमान छ ।
नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा अझै पनि उच्च छ । कुल गार्हस्थ्य उत्पादनको ९०.३ प्रतिशत रकम उपभोगमै खर्च हुने गरेको छ । यसमा निजी क्षेत्रको हिस्सा मात्रै ९१.२६ प्रतिशत छ । सरकारी क्षेत्रको ६.६२ प्रतिशत र गैरसरकारी क्षेत्रको २.१२ प्रतिशत छ ।