लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित

बुधबार, १३ जेठ, २०८३
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश सभाको आठौँ अधिवेशनको आठौँ बैठकले आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव सभामुख तुलाराम घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरेकोमा बहुमतले पारित भएको हो।

बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै यसैको आधारमा सरकारले बजेट निर्माण गर्ने बताए।

बुधबार बैठकमा छलफलमा भाग लिएका केही प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रमको आलोचनासमेत गरे। सत्तापक्षकै केही सदस्यहरूले नीति कार्यक्रमले नयाँ विषयवस्तुहरू समेट्न नसकेको र विगतको कपी पेस्ट गरेको भन्दै आलोचना गरेका हुन्। त्यस्तै, विपक्षी दलका सदस्यहरूले समेत आलोचना गरेका थिए। बैठकमा विपक्षी दलका नेता जोखबहादुर महराले पनि सम्बोधन गरेका थिए।

यसैगरी, बैठकमा मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका वार्षिक प्रतिवेदनहरू प्रदेश सभामा पेस गरेका छन्। आगामी बैठक सूचनाद्वारा जानकारी गराइने जनाइएको छ।

सुझावित समाचार