नेपालको सुशासन र विकास प्राथमिकतामा सघाउने राजदूतहरूको वचन

बुधबार, १३ जेठ, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग करिब दुई घण्टा लामो छलफलमा राजदूतहरूले नेपालको विकास प्राथमिकतामा सहयोग गर्ने वचनबद्धता जनाउँदै सुशासन प्रतिबद्धतामा समर्थन जनाएका छन् । ‘उहाँहरूले आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभएको छ,’ प्रधानमन्त्रीकी प्रेसविज्ञ दीपा दाहालले भनिन् ।

भेटमा काठमाडौं र नयाँदिल्लीस्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाडौंस्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गरेका थिए । राजदूतहरूले नागरिक समाज, उद्योगी तथा जेन–जी अभियन्ताहरूसँग पनि मंगलबार बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । 

युरोपेली संघका राजदूतहरूले नेपालको जेन–जी आन्दोलन इतिहासकै पानीढलो भएको उल्लेख गर्दै त्यसका आकांक्षा सम्बोधन गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री शाहसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा उनीहरूले उपयुक्त वातावरण सिर्जना भएमा नेपालमा अब लगानीको सम्भावना बढ्नेसमेत बताए । नेपाल सरकारको प्राथमिकता १५ जेठमा सार्वजनिक हुने बजेटमा देखिने र त्यसपछि नेपालसँगको सहकार्यबारे थप भन्न सकिने उनीहरूको भनाइ छ । 

युरोपेली संघ (इयू)का नेपालका लागि राजदूत भेरोनिक लोरेन्जोले प्रधानमन्त्री शाहसँग स्पष्ट योजना र समयसीमाको जानकारी रहेको आफूहरूले पाएको बताइन् । साथै उनले उपयुक्त वातावरण बनाए नेपालमा वैदेशिक लगानी बढ्ने सुनाइन् । ‘यो नेपालका लागि पानीढलो क्षण हो । उपयुक्त वातावरण भयो भने नेपालमा वैदेशिक लगानी बढ्न सक्छ, नेपालले नयाँ लगानी प्राप्त गर्ने अवसरको सदुपयोग होस् भन्ने चाहन्छौँ,’ उनले भनिन्, ‘सुशासन र सेवा प्रवाहमा देखिने गरी र वास्तविक परिवर्तन ल्याउने प्रधानमन्त्रीको प्राथमिकता पायौँ । उहाँसँग निर्णायक म्यान्डेट पनि छ । हामीले नेपाल र युरोपेली संघअन्तर्गतका देशसँग जनस्तरको सम्बन्ध विस्तारमा पनि जोड दियौँ ।’ उनले इयूका २७ देशमा नेपाली कामदार रहेको तथा त्यहाँ नेपाली विद्यार्थीको संख्या पनि बढ्दै गएको बताइन् । 

स्विडेनका राजदूत जान थेस्लेफले नेपालमा इयूसम्बद्ध मुलुकहरूको ४८ घण्टा दौडधुप विरलै हुने गरेको घटनामध्ये रहेको सुनाए । ‘हामी नेपालका घटनाक्रमहरूलाई हेरिरहेका छौँ । प्रधानमन्त्रीले प्राथमिकताहरू राख्नुभएको छ । हामी नजिकबाट हेर्नेछौँ,’ उनले भने । 

इटलीका राजदूत एन्टोनियो बार्टेलीले विगतका प्रधानमन्त्रीहरूभन्दा वर्तमान प्रधानमन्त्री शाहलाई फरक पाएको बताए । ‘प्रधानमन्त्रीको मुड, इम्प्रेसन र भाइभ्स मैले यसअघिका प्रधानमन्त्रीको भन्दा बिल्कुल फरक पाएँ,’ राजदूत एन्टोनियोले भने, ‘तपाईं (सरकार)सँग खेल्नका लागि सबै कार्ड छन्, तर तपाईंले राम्रोसँग खेल्नु जरुरी छ ।’ 

इस्टोनियाका राजदूत मार्जे लुपले आफ्नो देशको अनुभव सुनाउँदै पुनर्संरचना वा सुधार त्यति सहज नहुने बताइन् । ‘हामीले सन् नब्बेको दशकमा सुधार गर्यौँ । यो आवश्यक छ, तर असजिलो छ । तर गर्नैपर्छ,’ उनले भनिन् । 

अस्ट्रियन राजदूत रोबर्ट जिस्चगले उनको देशजस्तै नेपाल भूपरिवेष्टित तथा असाध्यै सम्भावना बोकेको आफूले पाएको बताए । ‘नेपालसँग मिलेर काम गर्न अस्ट्रिया तयार छ,’ उनले भने । 

साइप्रसका राजदूत इभागोरास ब्रायोनाइड्सले उनको देशमा २० हजार नेपाली पुगेको तथा विद्यार्थीको संख्या पनि उल्लेख्य रहेको बताए । ‘तर, साइप्रस जानका लागि नेपाली कामदारले दोस्रो व्यक्तिलाई पाँच हजारभन्दा बढी युरो तिर्नुपर्ने रहेछ । यसलाई परिवर्तन गर्नु आवश्यक छ,’ उनले थपे ।

See More On

सुझावित समाचार