कीर्तिमानले भरिएको १९औँ आइपिएलको पहिलो चरण

बुधबार, १३ जेठ, २०८३
डिजिटल संस्करण

१९औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को लिग चरणका खेल समाप्त भइसकेका छन् । पहिलो चरणको ७० खेलमा ब्याट्सम्यान, बलर र सहभागी टोलीले रेकर्ड बनाए । विगतको तुलनामा भारतमा चलिरहेको आइपिएल प्रदर्शनका आधारले निकै फरक रह्यो । रनरेट, छक्का र योगफलमा हालसम्मकै ठुलो सिजन बनेको भारतीय एजेन्सीले जनाएको छ । पहिलो चरणमा ७० मध्ये ६१ पटक दुई सय वा सोभन्दा बढी स्कोर बने । राजस्थान रोयल्सका १५ वर्षीय वैभव सूर्यवंशी पूरै छाएका छन् । राजस्थानले प्लेअफ स्थान बनाउँदा वैभवले छक्का प्रहारमा भारतीय खेलाडीमध्ये नयाँ रेकर्ड नै बनाए । साबिक विजेता रोयल च्यालेन्जर्स बेंग्लोरले उत्कृष्ट फर्म जारी राख्दै प्लेअफ स्थान बनाउने पहिलो टोली बनेको थियो । सुरुवातमा उत्कृष्ट प्रदर्शन गरेको पन्जाब किंग्स लगातार ६ खेलमा पराजित हुँदा प्लेअफ दौडबाट बाहिरियो । समग्रमा १९औँ आइपिएलको पहिलो चरण यस्तो रह्यो । 

६१ पटक दुई सय रनभन्दा माथिको योगफल 
प्रारम्भिक चरणमा ७० खेलमा केही खेलबाहेक अन्यमा पहिलो र दोस्रो ब्याटिङ गर्ने टोलीले आक्रामक रूपमा ब्याटिङ गरेका थिए । यस सिजनको समग्र रनरेट ९.८५ रह्यो । जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो । गत सिजनमा टोलीहरूले प्रतिओभर ९.६२ रनरेटमा ब्याटिङ गरेका थिए । यसैगरी, चालू सिजनमा ६१ पटक सहभागी टोलीले दुई सय वा दुई सयभन्दा माथिको योगफल खडा गरे । सन् २०२५ को सिजनमा ५२ पटक २०० भन्दा माथिका स्कोर बनेका थिए । सन् २०२२ सम्म कुनै पनि सिजनमा २० पटकभन्दा बढी दुई सयमाथिको स्कोर बनेका थिएनन् । यसपालि ठुलो स्कोर बनाउँदा पनि रक्षा गर्ने अवस्था भएन । १९औँ सिजनमा १६ पटक दुई सयभन्दा माथिको लक्ष्य सहजै पछ्याएको रेकर्ड बन्यो । गत संस्करणमा नौ र सन् २०२३ मा आठपटक मात्र दुई सयमाथिको योगफल सफलतापूर्वक पार भएको थियो । 

फिल्डरले मिस गरे १६९ क्याच
आइपिएलमा यसपटक फिल्डर दबाबमा देखिएका छन् । सर्वाधिक ६१ पटक दुई सय वा योभन्दा माथिको योगफल खडा हुँदा बलरदेखि फिल्डरसम्म चर्को दबाबमा परेका थिए । यसैकारण यसपटक १ सय ६९ क्याच मिस भएका छन् । गत संस्करणमा १ सय ८८ क्याच फिल्टरले छुट्याएका थिए । सन् २०२२ पछि लगातार प्रत्येक सिजनमा १४८ भन्दा बढी क्याच छुटिरहेका छन् । यस सिजनमा सबैभन्दा कमजोर फिल्डिङ सन्राइजर्स हैदराबादले गरेको छ । उसले सबैभन्दा धेरै २६ क्याच लिन सकेन । पन्जाब र चेन्नई सुपर किंग्सले समान २० क्याच छुटाए । 

शतकको कीर्तिमान बराबरी
चालू आइपिएलको लिग चरणमा मात्रै १४ शतकीय इनिङ्स भएका थिए । एकै सिजनमा बनेको सबैभन्दा धेरै शतकको कीर्तिमानसँग बराबरी हो । सन् २०२४ मा पनि १४ शतक बनेका थिए । गत संस्करणमा केवल नौ शतक खेलाडीले प्रहार गरेका थिए । सन् २०२३ मा १२ शतकीय इनिङ्स ब्याट्सम्यानले खेलेका थिए । आइपिएलको इतिहासमा सबैभन्दा कम शतक सन् २००९ मा बनेको थियो । त्यसवेला केवल दुईपटक मात्र शतक प्रतिस्पर्धामा बन्यो । सन् २०१३ को संस्करणमा तीन शतक बने । सन् २०११, ०१२, २०१७ र ०१८ को संस्करणमा समान ६ शतकीय इनिङ्स बनेका थिए । 

विजयी योगफलमा कीर्तिमानी 
यस सिजनमा पहिलो इनिङ्सको औसत स्कोर १९२ रहेको थियो । जुन आइपिएल इतिहासमै सबैभन्दा धेरै हो । यसअघि सन् २०२५ मा १९१ र २०२४ मा १९० योगफल थियो । यसपटक विजयी योगफलमा समेत कीर्तिमान राखे । यसपटक जित्ने टोलीको औसत स्कोर २१७ रन देखिन्छ । आइपिएल इतिहासमै पहिलोपटक २१५ रन नाघेको हो । यसअघि २०२५ र २०२४ मा २११ रनको योगफल थियो । 

१३४९ छक्का प्रहार 
आइपिएलको इतिहासको पहिलो चरणमै कीर्तिमानी रूपमा १३ सय छक्का प्रहार भए । समग्रमा यसपटक १,३४९ छक्का प्रहार भएका छन् । औसतमा प्रत्येक १२ बलमा ब्याट्सम्यानले छक्का प्रहार गरेका थिए । यो आइपिएल इतिहासकै सबैभन्दा तीव्र दर हो । 

गत संस्करणमा १२९४ र सन् २०२४ मा १२६० छक्का खेलाडीले प्रहार गरेका थिए । सन् २०२२ यताको संस्करणमा एक हजारमाथि छक्का प्रहार भएका छन् । आइपिएलको इतिहासमा सबैभन्दा कम छक्का प्रहार भएको सन् २००९ मा थियो । त्यसवेला ५०६ छक्का ब्याट्सम्यानले ठोके । योपटक पावरप्लेको रनरेट १० पार रह्यो । सन् २०२५ मा ९.६० र २०२४ मा ९.४७ रनरेट थियो । 

See More On

सुझावित समाचार