बाढीबाट प्रभावित भएको बिपी राजमार्ग (सिन्धुली सडक)को आकस्मिक पुनर्स्थापनाको काम मंगलबारदेखि सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र नेपालका लागि जापानी राजदूत माएडा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका मुख्य प्रतिनिधि मात्सुजाकी मिजुकीको उपस्थितिमा शिलान्यास भएको हो।
नेपाल सरकार र जाइकाबिच २०८२ कात्तिक १३ गते ‘बाढीबाट प्रभावित सिन्धुली सडकको आकस्मिक पुनर्स्थापना’ आयोजनाका लागि २ अर्ब ८० करोड जापानी येन (करिब २ अर्ब ३० करोड नेपाली रुपैयाँ) बराबरको वित्तीय अनुदान सहायता उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको थियो।
अनुदान सहायताको मुख्य उद्देश्य सन् २०२४ को सेप्टेम्बर (२०८१ असोज)मा आएको भारी वर्षा र बाढीपहिरोबाट ठुलो क्षति पुगेको सिन्धुली सडकको चौथो खण्डका जोखिमपूर्ण तथा क्षतिग्रस्त हिस्साहरूको पुनर्स्थापना एवं सडक फराकिलो बनाई वैकल्पिक र सुरक्षित यातायात पूर्वाधार निर्माण भनिएको छ।
‘यो आयोजनाले नेपालको आर्थिक तथा सामाजिक विकासमा भरपर्दो र सुदृढ यातायात सञ्जालमार्फत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ,’ जाइकाद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ।
काठमाडौंलाई मध्य तथा पूर्वी तराईसँग जोड्ने १६० किलोमिटर लामो बिपी राजमार्ग जापानी अनुदान सहयोगमा निर्माण भएको पूर्वाधार परियोजना हो। करिब २५ अर्ब ८० करोड जापानी येनको लागतमा बनेको यो सडकका लागि जापान सरकारले विश्वभर दिएका अनुदानहरूमध्येकै सबैभन्दा ठुलो वैदेशिक अनुदान सहायता दिएको थियो। सन् २०१५ मार्च (२०७१ चैत)देखि सञ्चालनमा आएको सडकले काठमाडौँ र बर्दिबासबीचको यात्रा अवधिलाई ९ घण्टाबाट घटाएर करिब ५ घण्टामा सीमित गरिदिएको छ।
विशेषतः रोशी खोलामा आएको बाढीले भत्केको सडक पुनर्स्थापना परियोजनाले नेपाल र जापान सरकारबिच बलियो र उत्थानशील पूर्वाधार निर्माण तथा दिगो विकासको क्षेत्रमा रहेको निरन्तर साझेदारीलाई थप प्रगाढ बनाएको जापानले विश्वास लिएको छ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपालको सबैभन्दा भरपर्दो विकास साझेदारका रूपमा जापानको प्रशंसा गर्दै सिन्धुली सडकको समयमै पुनर्स्थापना र सुदृढीकरण राष्ट्रिय प्राथमिकतामा रहेको उल्लेख गरे। बिपी राजमार्गलाई आगामी दिनमा आउन सक्ने प्राकृतिक प्रकोपहरूसँग जुध्न सक्ने गरी स्तरोन्नति गरिने र यसलाई नेपालभरिका सुरक्षित तथा उत्थानशील सडक पूर्वाधार विकासको उत्कृष्ट नमुनाका रूपमा विकसित गरिने पनि उनको भनाइ थियो।
जाइका नेपालका मुख्य प्रतिनिधि मात्सुजाकीले भने, ‘सिन्धुली सडकको चौथो खण्डअन्तर्गत प्राविधिक रूपमा चुनौतीपूर्ण र महत्त्वपूर्ण हिस्साहरूको पुनर्निर्माणमा नेपाल सरकारलाई सहयोग गर्न पाउनु जाइकाका लागि गौरवको कुरा हो। यो कोसेढुंगाले जापानी अनुदान सहायतामार्फत पुनर्निर्माण कार्यको सुरुवात मात्र नभई नेपालको सुरक्षित र सबल यातायात पूर्वाधार निर्माणप्रतिको हाम्रो प्रतिबद्धतालाई पुनः नवीकरण गरेको छ।’
यस आयोजनाको निर्माण कार्य आगामी २०८४ पुस १६ (३१ डिसेम्बर २०२७)सम्म सम्पन्न हुने लक्ष्य राखिएको जाइकाले जनाएको छ।