मधेश सरकार विस्तार फेरि रोकियो

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

मधेश प्रदेश सरकार विस्तारको प्रयास सोमबार पनि स्थगित भएको छ । सत्तागठबन्धनभित्र मन्त्रालय बाँडफाँटमा सहमति नजुटेपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले सोमबार गर्ने भनिएको सरकार विस्तार रोकिएको हो ।

सत्तागठबन्धन दल (कांग्रेस, एमाले र नेकपा)बिच सोमबार साढे दुई घण्टा छलफल भए पनि मन्त्रालय भागबन्डामा सहमति जुटेन । एमाले संसदीय दलका नेता सरोजकुमार यादव प्रस्तावित मन्त्रीहरू शारदा थापा, मनोज सिंह र लखन लाल दासलाई शपथ गराउने तयारीसहित मुख्यमन्त्री निवास पुगेका थिए । तर, नेकपाले अर्थ मन्त्रालयसहित चार मन्त्रालयको अडान नछोडेपछि सरकार विस्तार पुनः रोकिएको हो ।

प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्याम पटेलका अनुसार गठबन्धनभित्र एमालेलाई चार मन्त्रालय, कांग्रेसलाई मुख्यमन्त्रीसहित चार मन्त्रालय तथा नेकपालाई अर्थसहित तीन मन्त्रालय दिने सहमति बनेको थियो । तर, पछि नेकपाले अर्थ मन्त्रालयसहित चार मन्त्रालय माग गरेपछि विवाद उत्पन्न भएको उनले बताए ।

नेकपाको असन्तुष्टिका कारण सरकार विस्तार अनिश्चित बनेको चर्चा चलिरहेकै वेला एमाले अध्यक्ष केपी ओलीले नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल नगरी सरकारमा सहभागी नहुन एमाले संसदीय दललाई निर्देशन दिएको स्रोतको दाबी छ । 

सुझावित समाचार