एनसेल फाउन्डेसनले ‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप २०२६’मा सहकार्य गर्ने भएको छ । महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकहरूको सहभागिता रहने बताइएको छ । एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस संस्करणको आठदिने अन्तर्राष्ट्रिय कार्यक्रम नेपाली साहित्यमा गुरुप्रसाद मैनालीले पुर्याएको दीर्घकालीन योगदानको सम्मानमा समर्पित गरिएको छ । आइतबार काठमाडौंमा आयोजिक पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
मे २९ देखि ५ जुन २०२६ सम्म काठमाडौंमा आयोजना हुने यस वर्षको महोत्सव हिलिङ, चेतना, सिर्जनशीलता, स्मृति तथा तीव्र परिवर्तनशील विश्वमा सांस्कृतिक संवादका विषयमा केन्द्रित रहनेछ । सप्ताहव्यापी कार्यक्रममा मास्टर क्लास, कार्यशाला, मुख्य वक्तव्य, कवितावाचन, साहित्यिक संवाद, चलचित्र प्रदर्शन, सांस्कृतिक भ्रमण तथा साहित्य र कलाका रूपान्तरणकारी शक्तिमाथि केन्द्रित अन्तरविषयक छलफल हुनेछन् ।
महोत्सवमा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के स्मिथ र पल मल्डुन, चर्चित उपन्यासकार जिन ह्यान्फ कोरेलिट्ज, कवि तथा अनुवादक टोनी बार्नस्टोन, हिमालयन कवि युयुत्सु शर्मा, आइरिस साहित्यिक सम्पादक मार्टिन डोयल, ब्रुकलिन ‘पोएट लौरिएट’ टिना चाङलगायत नेपाल, भारत, आयरल्यान्ड, अस्ट्रिया, पोल्यान्ड, अमेरिका तथा अन्य देशका विशिष्ट साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहने बताइएको छ । महोत्सवभरि कविता, संस्मरण, जादुई यथार्थवाद, कृत्रिम बुद्धिमत्ता (एआई) र सिर्जनात्मक लेखन, महिला साहित्य, आदिवासी आख्यान, अनुवाद, प्रस्तुति कलालगायत विविध विषयमा सत्रहरू सञ्चालन गरिनेछन् ।