नेपालकी पलेशा गोवर्धनले ११औँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सोमबार कांस्य पदक जितेकी छन् । मंगोलियाको उलानबटारमा भएको प्रतियोगिताको के–४४ क्याटेगोरीको महिला ५७ केजीमुनि पलेशाले कांस्य जितेकी हुन् ।
पहिलो चरणमा बाइ पाउदै पलेशा सोझै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । सेमिफाइनलमा उनी इरानकी जहरा रहिमीसँग पराजित भएपछि कांस्यमा सीमित भएको टोली प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।
के–४४ क्याटेगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि अमिर ब्लोन र महिला ४७ केजीमुनि रेणु तामाङ पहिलो चरणमै पराजित भए । दुवै इरानी खेलाडीसंग चुके । अब अमिर र रेणु उलानबटारमै मंगलबारदेखि हुने आइची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतियोगितामा सहभागी हुनेछन् ।
विजेता र उपविजेता एसियाली पारा तेक्वान्दोका लागि छनोट हुनेछन् । पलेशा भने छनोट प्रतियोगितामा सहभागी हुनेछैनन् । पलेशा विश्व वरीयताका आधारमा एसियाली पारा तेक्वान्दोका लागि छनोट भइसकेकी छिन् ।