संखुवासभामा सुत्केरीको हेलिकाेप्टरबाट उद्धार गरिएको छ। सोमबार दिउँसो करिब १ बजेतिर खाँदबारी नगरपालिका– ७ घर भएकी २९ वर्षीया सविता मगरलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए।
मैनालीका अनुसार आइतबार साँझ ७ बजेतिर सुत्केरी बेथा लागेपछि मगरलाई जिल्ला अस्पताल खाँदबारी भर्ना गरिएको थियो। जिल्ला अस्पताल खाँदबारीमा शल्यक्रियाद्वारा प्रसूति गराएपछि अत्यधिक रक्तस्राव भई रगतको मात्रा कम भई स्वास्थ्य अवस्था गम्भीर भएपछि चिकित्सकको रिफरमा थापाथली प्रसूति गृह पठाएको प्रहरीले जनाएको छ।
हिमाली दुर्गम जिल्लाका सुत्केरी महिलाको राष्ट्रपति हवाई उद्धार कार्यक्रममार्फत उद्धार हुँदै आएको छ। सोही कार्यक्रममार्फत संखुवासभाका धेरै महिलाको ज्यान बच्दै आएको छ।