दुर्गम तथा भौगोलिक रूपमा विकट हिमाली गाउँपालिकाका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ।
पालिकाभित्रका १६ देखि २३ महिनासम्मका १३५ जना बालबालिका तथा २४ महिनादेखि ५९ महिनासम्मका २८५ जना बालबालिकाले पूर्ण खोप पाएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले जानकारी दिएका छन्।
भण्डारीका अनुसार हिमाली गाउँपालिकाजस्तो दुर्गम क्षेत्र, कठिन भौगोलिक अवस्था र पहुँचको चुनौतीका बाबजुद महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा सरोकारवालाको अथक प्रयासले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गर्न सफल भएको हो।
पूर्ण खोप कार्यक्रमले बालबालिकालाई विभिन्न सरुवा तथा घातक रोगबाट सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यसले स्वस्थ समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। गाउँपालिकाले आगामी दिनमा पनि खोप कार्यक्रमलाई अझ प्रभावकारी र दिगो बनाउँदै लैजाने जनाएको छ।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।
पालिकाले स्वास्थ्य क्षेत्रमा काम गर्ने २५ जना महिला स्वास्थ्य स्वयंसेविका र १३ जना स्वास्थ्य संस्था प्रमुखलाई सम्मान गरेको छ। साथै विद्यार्थीहरूलाई जनचेतनामूलक कार्यक्रममा प्रतिस्पर्धा गराई सरसफाइ सामग्रीसमेत वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताए।