गणतन्त्र दिवसमा बागमतीमा निबन्ध प्रतियोगिता, रक्तदान, दीपावली, खुला दौड र मूल समारोह आयोजना गरिने

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले आगामी गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाउन मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको संयोजकत्वमा ४३ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । 

मुख्यमन्त्री बानियाँको अध्यक्षतामा जेठ ११ गते बसेको बैठकले गणतन्त्र दिवस चार दिनसम्म विभिन्न रचनात्मक तथा जनसहभागितामूलक कार्यक्रममार्फत मनाउने निर्णय गरेको हो ।

प्रदेश सरकारले गठन गरेको मूल समारोह समितिमा प्रदेश सभाका सभामुख, उपसभामुख, मन्त्रीहरू, विपक्षी दलका नेता, मुख्यन्यायाधिवक्ता, विभिन्न आयोगका पदाधिकारी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सदस्य रहेका छन् । 

बैठकले गणतन्त्र दिवसलाई प्रदेशभर व्यवस्थित र भव्य रूपमा मनाउन जेठ १३ देखि १६ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । तय गरिएकाे कार्यक्रमअनुसार जेठ १३ गते ‘गणतन्त्र स्थापनाको १८ वर्ष : कार्यान्वयन र चुनौती’ विषयमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना गरिनेछ ।

त्यसैगरी, जेठ १४ गते सार्वजनिक रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, वृक्षरोपण तथा साँझ दीपावली कार्यक्रम सञ्चालन गरिनेछ । जेठ १५ गते बिहान हेटौँडा नगर क्षेत्रमा सरसफाइ कार्यक्रमसँगै पाँच हजार मिटर खुला दौड प्रतियोगिता आयोजना गरिनेछ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयपरिसरमा मूल समारोह कार्यक्रम गरिने निर्णय भएको छ ।

मूल समारोहमा स्थानीय संस्कृति झल्कने झाँकी प्रदर्शन गरिनुका साथै उत्कृष्ट चारजना पत्रकारलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिने प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा जेठ १४, १५ र १६ गते साँझ प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय तथा नागरिकका घरघरमा दीपावली गर्नसमेत आह्वान गरेको छ । साथै, हेटौँडाको बुद्धचोक र बसपार्क क्षेत्रमा राष्ट्रिय झन्डा फहराउने व्यवस्था मिलाइने निर्णय गरिएको छ ।

बैठकले सबै मन्त्रालय तथा मातहतका कार्यालयलाई आफ्ना वेबसाइटको होमपेजमा गणतन्त्र दिवससम्बन्धी सन्देश राख्न निर्देशन दिएको छ ।
 

सुझावित समाचार