पोखराको विभिन्न भाग भएर बग्ने फिर्केखोला अतिक्रमण गरी खोलाघरभित्र निर्माण गरिएका संरचना आइतबारदेखि हटाउन सुरु गरिएको छ । पोखरा महानगरपालिका– १८, सराङकोटस्थित अँधेरीकुनाबाट सुरु भएर महानगरका विभिन्न आठवटा वडाको बस्ती छिचोल्दै करिब नौ किलोमिटर यात्रा गरी फेवातालको ड्यामसाइडनजिकैको गाईघाटबाट सिधै तालमा मिसिने ठाउँमा निर्मित संरचना हटाउन थालिएको हो । आइतबार १९ वटा संरचना भत्काइएका छन् ।
आइतबार खोलाको तीन स्थान पोखरा वडा नम्बर २ र १८ को सिमाना अँधेरीकुनादेखि पोखरा वडा नम्बर ४ र ५ को सिमाना फिर्केपुल बुढानीलकण्ठ मन्दिरदेखि, पोखरा ७ र ८ को सिमाना जिरो किमिस्थित लायन्सको भवनबाट डोजर र एक्स्काभेटरले संरचना हटाउन थालेको हो । महानगरको वडा नम्बर १८ बाट सुरु भएको फिर्के वडा नम्बर २, ४,५, ८, ७, ६ र १७ हुँदै फेवातालसम्म पुगेको छ ।
फिर्केखोलाको खोलाघर क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका स्थायी एवं अस्थायी भौतिक संरचना आफैँ हटाउन ४ वैशाखमा महानगरले जारी गरेको सूचनालाई समेत आधार मान्दै ९ जेठभित्र आफैँ संरचना हटाउन पुनः ६ जेठमा सूचना जारी गरेको थियो । सोही सूचनापछि आइतबारदेखि महानगरले डोजर चलाउन सुरु गरेको हो । डोजर चलाउने स्थानमा नगर प्रहरीसँगै बाक्लो मात्रामा सुरक्षकर्मी परिचालन गरिएको थियो ।
सीमांकनका क्रममा खेलाघरभित्र १६० वटा भौतिक संरचना निर्माण भएको भेटिएको थियो । तीमध्ये संस्थागत अर्थात् सरकारी, सामाजिक संघसंस्था, आमा समूह, समाजघरलगायत गरी २८ र व्यक्तिगत १३२ वटा छन् । संस्थागततर्फ स्थायी १८ र अस्थायी १० वटा छन् । व्यक्तिगतमध्ये ९७ वटा कच्ची र ३५ वटा पक्की संरचना छन् ।