लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी, नतिजामुखी र व्यवहारिक बनाइने बताएका छन्।
प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत आइतबार बसेको पाँचौँ बैठकमा ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री कार्कीले प्रदेशको आवधिक योजनाले निर्दिष्ट गरेका संकल्प र प्रदेश सभा सदस्यहरूले दिएका सुझावका आधारमा बजेट निर्माण गरिने बताए।
मन्त्री कार्कीले पर्यटन, उद्योग र रोजगारीलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइने बताउँदै पुँजी तथा प्रविधिको विस्तारमा विशेष जोड दिइने जानकारी दिए। कृषि क्षेत्रको आधुनिकीकरण, प्रांगारिक उत्पादन प्रवर्द्धन तथा उत्पादनमा विविधीकरणमार्फत रोजगारी र आयआर्जन सिर्जना गर्ने नीति सरकारले लिएको उनको भनाइ थियो।
कार्कीले बजेटलाई प्रभावकारी र कार्यान्वयनयोग्य बनाउने विषय सबैको साझा सरोकार भएको उल्लेख गर्दै कार्यान्वयनमा नवीनता ल्याइने बताए।
त्यसअघि विशेष समयमा बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा धारणा राखेका थिए। विशेष समयमा प्रदेश सभा सदस्य बैजनाथ कलवार, दिल कुमारी बुढा, तारा थापा, रेवती गुरुङ, चन्द्रकेश गुप्ता, मीना बुढामगर, शान्ति लोध, मीनाकुमारी श्रेष्ठलगायतले विभिन्न विषयमा धारणा राखेका थिए।