बागमती नदीमा शनिबार नुहाउने क्रममा दुई युवक डुबेर बेपत्ता भएका छन्। पाँचजनाको समूहमा नदीमा नुहाउन गएका उनीहरू नदीको गहिरो भागमा पुगेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार बेपत्ता हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका– ५ निवासी गणेश महतो र सोही पालिकाका रोहित महतो रहेका छन्। दुवैको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ती युवकहरू महेन्द्र राजमार्गभन्दा करिब तीन किलोमिटर उत्तरतर्फ पर्ने मकवानपुर र सिन्धुलीको सीमा क्षेत्रबाट बग्ने बागमती नदीमा नुहाउन गएका थिए। सोही क्रममा उनीहरू नदीमा डुबेका हुन्।
घटनालगत्तै स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा खोजी कार्य सुरु गरिएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रूपा लावुङका अनुसार रौतहट र सर्लाहीका प्रहरी टोली संयुक्त रूपमा बेपत्ता युवकहरूको खोजीमा जुटेका छन्।