झापालाई हराउँदै उदयपुर सेमिफाइनलमा

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण

उदयपुरको ब्रदरहुड फुटबल क्लब छैटौँ मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार विराटनगर जुटमिलको खेल मैदानमा भएको उद्घाटन खेलमा झापाको कन्काई स्पोर्टिङ क्लबलाई सडन डेथमा ६–५ ले पराजित गर्दै उदयपुरले अन्तिम चारको यात्रा तय गरेको हो ।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा दुवै टोलीबाट ५–५ गोल भएपछि खेल सडनडेथमा धकेलिएको थियो । सडनडेथमा उदयपुरका कवीन्द्र धिमालले गोल गर्दा झापाका निगम घिसिङको प्रहार पोस्ट बाहिरिएको थियो ।

टाइब्रेकरमा उदयपुरका निवास फुयाँल, सविन घिमिरे, सञ्जय धिमाल, निश्चल मुक्ताङ र विदेशी खेलाडी फोफोनाले गोल गरे । झापाका तर्फबाट बाबुराम थारू, आशिष चापागाईं, आदित्य बानियाँ, सञ्जय लिम्बू र रोहन कार्कीले गोल गरे । निगम चुक्दा टोली प्रतियोगिताबाट बाहिरियो । प्लेयर अफ दी म्याच उदयपुरका निश्चल मुक्ताङले दुई हजार एक सय प्राप्त गरे । 

हेमनको गोलमा झापाको अग्रता 
यसअघि प्रतिस्पर्धात्मक खेलको १४औँ मिनेटमा हेमन लिम्बूको गोलबाट झापाले सुरुवाती अग्रता लिएको थियो । सञ्जय लिम्बूले उपलब्ध गराएको क्रसपासलाई सदुपयोग गर्दै हेमनले बललाई जाली चुमाएका थिए । सुरुवाती अग्रता जोगाउन नसक्दा झापा स्तब्ध बन्यो । खेलको ६४औँ मिनेटमा उदयपुरका सञ्जय धिमालले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

खेलभरि दुवै टोलीले गोलका थुप्रै अवसर गुमाएका थिए । १७औँ मिनेटमा उदयपुरका कवीन्द्र लिम्बूको प्रहार पोस्टको थोरै माथिबाट बाहिरियो । लगत्तै उदयपुरका विदेशी खेलाडी फोडे फोफोनाको शक्तिशाली प्रहारलाई झापाका गोलकिपर विवेक मगरले उत्कृष्ट बचाउ गर्दै टिमको संकट टारेका थिए ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका वन, पर्यटन तथा वातावरणमन्त्री भीम पराजुलीले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै मन्त्री पराजुलीले खेलकुदको माध्यमबाट विराटनगरको ऐतिहासिक पहिचान जोगाउन मिल्स गोल्डकपले महत्वपूर्ण भूमिका खेलेको बताए ।

मिल्स गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष विष्णु डंगोलका अनुसार प्रतियोगितामा ८ टोलीको सहभागिता छ । २०७७ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको यस प्रतियोगिताको विजेताले दुई लाख एक हजार १११ र उपविजेताले एक लाख एक हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडीलाई पाँच हजार एक सय र अन्य विधाका विजेतालाई तीन हजार एक सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताअन्तर्गत आइतबार लेटाङ फुटबल क्लब र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबिच प्रतिस्पर्धा हुनेछ ।

See More On

सुझावित समाचार