प्रहरी तथ्यांकले देखाउँछ– देशभरमा सडक दुर्घटनामा प्रत्येक दिन सातजनाको ज्यान जान्छ । तर, सरकारले सार्वजनिक सडक र सडक सुरक्षाका लागि ल्याउन लागेको ऐनको विधेयक तीन वर्षदेखि अलपत्र छ । सार्वजनिक सडक ऐन, २०८० को विधेयक भौतिक पूर्वाधार विकास मन्त्रालयले तयार गरी सहमतिका लागि २३ असोज ०८० मै अर्थ र कानुन मन्त्रालयमा पेस गरे पनि त्यतिवेला सडक सुरक्षा परिषद् र त्यसका लागि विनियोजन गर्नुपर्ने बजेट अभाव देखाएर रोकिएको हो । अर्थले करिब चार महिना थन्क्याएर २० पुस ०८० मा उक्त विधेयक पूर्वाधारमै पठाएको थियो ।
अहिले त्यही विधेयकको नाम ‘सार्वजनिक सडक ऐन, २०८३’ दिएर सरकारले आगामी साताभित्र संसद्मा पेस गर्ने तयारी गरेको छ । पूर्वाधार विकास मन्त्रालय विधेयकको मस्यौदा तयारीमा जुटेको छ । सडक दुर्घटनाका कारण मृत्यु हुनेको संख्या अस्वाभाविक रूपमा बढेपछि गत ३० वैशाखमा संसद्को पूर्वाधार विकास समितिले यथाशक्य चाँडो सडक सुरक्षा ऐन संसद्मा पेस गर्न निर्देशन दिएको थियो । त्यसलगत्तै मन्त्रालयले विधेयकको मस्यौदा तयारी कार्यलाई तीव्र तुल्याएको हो ।
मन्त्रालयमातहतको पूर्वाधार निर्माण तथा यातायात महाशाखाका प्रमुख कृष्णराज पन्थले अबको एक–डेढ साताभित्रै विधेयक संसद्मा पेस हुने बताए । ‘सार्वजनिक सडक र सडक सुरक्षासम्बन्धी विधेयकको मस्यौदालेखन कार्य अन्तिम चरणमा पुगेको छ । अबको एक–डेढ साताभित्रै विधेयक संसद्मा पेस गर्ने तयारी छ । अहिले मस्यौदामा काम भइरहेको छ । यो काम चाँडोभन्दा चाँडो अघि बढ्नेछ ।’
तीन वर्षअघि अर्थले पूर्वाधारलाई विधेयक फिर्ता पठाउनुमा मुख्य कारण बजेट देखाएको थियो । कारणमा भनिएको थियो, ‘सडक सुरक्षा परिषद्सम्बन्धी संरचनात्मक व्यवस्था दफा ३९ मा प्रस्ताव गरिएको कार्यकारी निर्देशक र दफा ४२ मा प्रस्ताव गरिएको कर्मचारीसम्बन्धी व्यवस्थालगायत संरचनात्मक प्रावधानहरूले नेपाल सरकारलाई दीर्घकालीन दायित्व सिर्जना गर्ने देखिएकोले आव ०८०/८१ को बजेट वक्तव्यको बुँदा ५० र हाल स्रोतमा परेको चापसमेतलाई मध्यनजर गरी नेपाल सरकारलाई दीर्घकालीन दायित्व सिर्जना गर्ने गरी नयाँ संरचना र थप दरबन्दी सिर्जना नगर्ने ।’ त्यसयता पूर्वाधारले उक्त विधेयकमाथिको छलफल प्रक्रिया नै स्थगित गरेको थियो । नयाँ सरकार गठन भएपछि भने उक्त विधेयक पुनः अघि बढाउनुपर्ने बहस सुरु भएको हो ।
संसद्को पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले दुर्घटना रोक्न जतिसक्दो चाँडो सार्वजनिक सडक ऐन, २०८३ पास भएर कार्यन्वयनमा आउनुपर्ने बताए । ‘सडक दुर्घटना बढिरहेका छन् । प्रत्येक दिन घरबाट निस्किने सातजना बेलुका घर फर्किँदैनन् । यो भयावह क्षति हो । यसलाई रोक्नु आवश्यक छ । यसैका लागि सार्वजनिक सडक ऐन चाहिन्छ । जसको विधेयकमा सडक सुरक्षा परिषद्को व्यवस्था गरिएको छ । परिषद् गठन गरिएन भने दुर्घटना भइरहन्छ, नागरिकको ज्यान गइरहन्छ ।’
सडक सुरक्षासम्बन्धी राष्ट्रिय लक्ष्य, उद्देश्य, नीति तथा रणनीति बनाई दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले सडक सुरक्षा परिषद् गठन गरेको थियो । तर, सरकारले परिषद् सञ्चालनका लागि न कानुन बनाइदियो, न त बजेट नै विनियोजन गरिदियो । यतिसम्म कि पूर्वाधार मन्त्रालयमा राखिएको कार्यालयमा परिषद्को सचिवालय सञ्चालनका लागि कर्मचारीसमेत छैन ।
तीन वर्षअघि सिमलताल बस दुर्घटना छानबिनका लागि गठित समितिले पनि दुर्घटना न्यूनीकरणका लागि राष्ट्रिय सडक सुरक्षा परिषद् स्थापना गरिनुपर्ने सुझाव पेस गरेको थियो । जसका लागि राष्ट्रिय सडक सुरक्षा नीति नै तर्जुमा गर्नुपर्ने प्रतिवेदनमा भनिएको थियो । विगतमा गठन भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तत्कालीन सचिव सरोज सिटौला नेतृत्वको समितिदेखि नेपाल प्रहरीका पूर्वआइजिपी कुवेरसिंह राना संयोजकत्वको छानबिन समितिले समेत यस्तै सुझाव दिएको थियो । तर, हालसम्म पनि कानुन बन्न नसक्दा सबै सुझाव अलपत्र बन्न पुगेका छन् ।
कानुन अभावले परिषद् सञ्चालनमा अवरोध आएपछि पूर्वाधार मन्त्रालयले तत्कालीन सरकारलाई पटक–पटक जानकारी गरायो । कानुनको मस्यौदा तयार गर्यो । स्वीकृतिका लागि सरोकारवाला मन्त्रालयमा पेस पनि गर्यो । तत्कालीन संसद्को विकास समितिमा पनि यो विषय जोडतोडका साथ उठ्यो । कानुन बनाउन समितिले सरकारलाई निर्देशन दियो । तर, कानुन निर्माणतर्फ सरकारको ध्यान गएन भने आवश्यक बजेट विनियोजन पनि गरिदिएन ।
यस्तो छ भौतिक पूर्वाधार मन्त्रालयले अर्थमा पेस गरेको सडक सुरक्षा परिषद्
भौतिक पूर्वाधार मन्त्रालयले सडक सुरक्षा परिषद् छुट्टै ऐनअन्तर्गत सञ्चालन हुनुपर्ने भन्दै आएको छ । सोहीअनुसार पूर्वाधारले परिषद्का लागि छुट्टै ऐन बनाएको थियो । तर, पछि कानुन मन्त्रालयले सडक सुरक्षा परिषद् सार्वजनिक सडक ऐनअन्तर्गत नै समेटिनुपर्ने राय दियो । सोहीअनुसार पूर्वाधारले ‘सार्वजनिक सडक ऐन, २०८०’ को विधेयक तयार गर्यो । र, परिषद्लाई सोही विधेयकअन्तर्गत समावेश गर्यो ।
प्रस्तावित विधेयकमा परिषद्को नेतृत्व भौतिक पूर्वाधारमन्त्रीले गर्ने भनिएको छ । जसमा सदस्य सोही मन्त्रालयका सचिवसहित अर्थ, गृह, स्वास्थ्य तथा खाद्य स्वच्छता, तत्कालीन सहरी विकास र शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव रहने भनिएको छ । त्यसबाहेक सडक सुरक्षाको क्षेत्रमा विज्ञता हासिल गरेका एक विज्ञ पनि सदस्य रहने भनिएको छ ।
परिषद्ले गर्ने मुख्य काममा सडक सुरक्षासम्बन्धी राष्ट्रिय लक्ष्य, उद्देश्य, नीति तथा रणनीति निर्धारण गर्ने, सडक सुरक्षासँग सम्बन्धित प्रचलित कानुनको प्रभावकारी कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने, सडकको प्रकृति र प्रकारबमोजिम सडक दुर्घटना रोकथाम र न्यूनीकरणका उपायहरू सम्बन्धित तहलाई लागू गर्न सिफारिस गर्ने, सडक सुरक्षासँग सम्बन्धित प्रचलित कानुनमा गर्नुपर्ने सुधारबारे नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई सिफारिस गर्ने भनिएको छ ।
त्यसबाहेक परिषद्को वार्षिक बजेट तथा कार्यक्रमहरू स्वीकृत गर्ने, सडक सुरक्षासम्बन्धी नीति, कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि कार्यकारी निर्देशकलाई निर्देशन दिने, सडक सुरक्षासम्बन्धी काम गर्ने विदेशी तथा अन्तर्राष्ट्रिय संघ–संस्था तथा निकायसँग नेपाल सरकारको स्वीकृतिमा सम्बन्ध स्थापना गरी आपसी हितमा काम गर्ने व्यवस्था पनि गरिएको छ ।
त्यस्तै, सडक सुरक्षासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्न सरकारी निकाय तथा गैरसरकारी संस्थाहरूबिच आवश्यक समन्वय गर्ने, सडक सुरक्षासँग सम्बन्धित विषय सरोकारवाला निकायले पालना गरे–नगरेको सम्बन्धमा अनुगमन गर्ने–गराउने, परिषद्को कार्यसञ्चालनका लागि आवश्यक कर्मचारी प्रशासन तथा आर्थिक प्रशासनसम्बन्धी विनियम बनाई स्वीकृतिका लागि मन्त्रालयसमक्ष पेस गर्ने व्यवस्था पनि विधेयकमा उल्लेख छ ।
त्यसबाहेक संघ, प्रदेश तथा स्थानीय तहबाट आ–आफ्नो क्षेत्रभित्रको सडकको रेखांकन, डिजाइन, निर्माण तथा सञ्चालनको प्रत्येक चरणमा सडक सुरक्षा परीक्षण गराउने तथा गरे–नगरेकोबारे अनुगमन गर्ने, सबै तह तथा निकायहरूबाट सडक निर्माण वा मर्मतसम्भार वा अन्य संरचनाको निर्माण वा विकास गर्दा कार्यस्थलको सुरक्षा (वर्क जोन सेफ्टी)को व्यवस्था गर्ने उल्लेख छ । सुरक्षित आवागमनको सुनिश्चितता गर्ने, अनुगमन गर्ने, राष्ट्रिय सडक सुरक्षा कार्ययोजनाअनुसारको कार्यहरू कार्यान्वयनमा समन्वय तथा अनुगमन गर्ने र सडक सुरक्षासम्बन्धी मापदण्ड, कार्यविधि, निर्देशिका आदिसहित योजना, कार्ययोजना तयार गर्ने, कार्यान्वयनमा सहयोग गर्ने, अनुगमन गर्ने विधेयकमा व्यवस्था गरिएको छ ।
सडक दुर्घटना रोक्न सार्वजनिक सडक तथा सडकवरपर सवारीसाधन राख्ने, जनावर छोड्ने, अवरोध आउने संरचना जस्तै ब्यानर, डिस्प्ले बोर्ड, होर्डिङ बोर्ड, टेन्ट, प्ल्याटफर्म, रोस्टम, सालिक बनाउनेजस्ता कार्य रोक्नुपर्ने विधेयकमा उल्लेख छ । त्यस्तै, जनावर तथा सवारीसाधनको आवागमन रोक्न, सडकको छेउछाउमा भएको रुख, स्ट्रक्चर, घरहरूको निर्माण रोक्न, सार्वजनिक सडकको छेउबाट घरभित्र जाने र निस्कने व्यवस्था गर्न पनि विधेयकले भनेको छ । सडक दुर्घटनाको उद्धार तथा उपचारका लागि संघ, प्रदेश तथा स्थानीय सडकमा उपयुक्त दूरीको अन्तरमा सडक एम्बुलेन्स सेवा र स्वास्थ्यसम्बन्धी व्यवस्था गर्नुपर्ने विधेयकमा उल्लेख छ । त्यस्तै, प्रत्येक प्रदेशमा आवश्यकताअनुसार राष्ट्रिय लोकमार्गमा पर्ने सहरी क्षेत्रमा आधुनिक ट्रमा सेन्टरको स्थापना गर्नुपर्ने व्यवस्था छ ।
दुर्घटनाका कारण वार्षिक १६ अर्बभन्दा धेरै आर्थिक क्षति
प्रहरी तथ्यांकअनुसार प्रत्येक वर्ष मुलुकभर सरदर ३७ हजार ६९५ दुर्घटना हुन्छन् । जसमा दुई हजार ५३५ को ज्यान जान्छ । यी दुर्घटनाबाट राज्यले वार्षिक १६ अर्बभन्दा धेरै आर्थिक क्षति व्यहोर्छ । यसका पछाडि सडक, सवारीसाधन, चालक र अन्य अवरोधलगायत मुख्य कारण देखिन्छन् । त्यसैले दुर्घटना न्यूनीकरण गर्न ‘रोड सेफ्टी अडिट’ अत्यावश्यक पाटो हो । तर, यो काम नै हुन सकेको छैन । ‘रोड सेफ्टी अडिट’ भनेको सडकको सुरक्षा परीक्षण हो । दुर्घटना निम्त्याउन सडकमा के–के कमजोरी छन् र कसरी सुधार गर्ने भन्ने निर्क्योल ‘रोड सेफ्टी अडिट’ले निकाल्छ । तर, दुर्घटना न्यूनीकरणका लागि योलगायत काम गर्न भन्दै गठन गरिएको सडक सुरक्षा परिषद् नै कानुन अभावमा १२ वर्षदेखि अलपत्र छ । परिषद्को क्षेत्राधिकार समेटेर विधेयक बनाए पनि कानुनी मान्यता पाउन सकेको छैन ।