कांग्रेसको २८ बुँदे ‘कोशी संकल्प’ सार्वजनिक, कोखदेखि शोकसम्म एकीकृत सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने

स्थानीय उत्पादनलाई कर सहुलियत दिने तथा उद्यमी आमा कार्यक्रम सञ्चालन गर्ने

शनिबार, ९ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसले कोशी प्रदेशको विकास, सुशासन, सामाजिक सुरक्षा, कृषि, पर्यटन र स्थानीय सरकारको सेवा प्रवाहलाई केन्द्रमा राख्दै २८ बुँदे ‘कोशी संकल्प’ सार्वजनिक गरेको छ।

‘ऊर्जा र विश्वासको नवीन अभियान’ भन्ने मूल नारासहित ८ र ९ जेठमा सुनसरीको लौकहीमा सम्पन्न जरा अभियान कार्यशालाबाट कांग्रेसले २८ बुँदे कोशी संकल्प सार्वजनिक गरेको हो।

संकल्पपत्रमा प्रदेश नामकरणपछि कोशीमा उत्पन्न असन्तुष्टिलाई सर्वपक्षीय खुला संवादमार्फत सम्बोधन गर्न पहल गरिने उल्लेख गरिएको छ। साथै, संविधानको मर्मअनुसार नागरिकमुखी, जवाफदेही र विधिसम्मत शासन सञ्चालनमा जोड दिइएको छ।

कांग्रेसले स्थानीय सरकारमार्फत ‘लाइन होइन, अनलाइन–घरआँगनमा सेवा’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। जन्मदर्ता, मृत्युदर्ता, स्वास्थ्य बीमा नवीकरणलगायतका सेवा अनलाइन वा घरदैलोमै उपलब्ध गराउने तथा ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीका लागि घरमै स्वास्थ्य सेवा पुर्याउने योजना अघि सारिएको छ।

संकल्पपत्रमा आर्थिक अनुशासन कायम गर्न सबै स्थानीय तहले असार १० भित्र बजेट ल्याउनुपर्ने, योजना बैंकमार्फत मात्र योजना छनोट गर्नुपर्ने र ‘शून्य बेरुजु स्थानीय तह’ निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ।

कृषि तथा उद्यम क्षेत्रमा अलैंची, चिया, अदुवा, एभोकाडो, कागतीलगायत नगदेबालीका लागि एकीकृत कृषि जोन स्थापना गर्ने, स्थानीय उत्पादनलाई कर सहुलियत दिने तथा ‘उद्यमी आमा’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।

यस्तै, विराटनगर–इटहरी औद्योगिक करिडोरलाई विशेष आर्थिक क्षेत्र (सेज) का रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने, वराहक्षेत्र–पाथीभरा–हलेसीलाई जोडेर आध्यात्मिक पर्यटन पथ निर्माण गर्ने तथा हिमाली क्षेत्रमा साहसिक पर्यटन विस्तार गर्ने योजना पनि समेटिएको छ।

स्वास्थ्यतर्फ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विशिष्टीकृत सेवा केन्द्रका रूपमा विकास गर्ने, सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउने तथा ‘कोखदेखि शोकसम्म’ एकीकृत सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ।

शिक्षा क्षेत्रमा स्थानीय भाषा, कला, संस्कृति र अनुसन्धानमा आधारित पाठ्यक्रम निर्माण गर्ने तथा ‘सिकाइकेन्द्रित शिक्षा’ प्रणाली विकास गर्ने प्रतिबद्धता जनाइएको छ।

त्यस्तै, कोशी राजमार्ग (जोगबनी–किमाथांका) शीघ्र सम्पन्न गर्न पहल गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्ने तथा कोशी नदीमा आन्तरिक जलमार्ग सञ्चालनको अध्ययन गरिने उल्लेख गरिएको छ।

संकल्पपत्रमा भूमिहीन दलित र सुकुमवासीको सम्मानजनक पुनर्स्थापना, लोपोन्मुख समुदायको भाषा–संस्कृति संरक्षण, विपद् व्यवस्थापन, वन्यजन्तु नियन्त्रण तथा संघ–प्रदेश–स्थानीय तहबीच समन्वय सुदृढ गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।

कांग्रेसले पार्टी र सरकारबीच समन्वय संयन्त्र गठन गरी नियमित संवाद गर्ने तथा पार्टी संगठन सुदृढीकरणका लागि कोशी प्रदेशभरि जरा अभियान सञ्चालन गर्ने घोषणासमेत गरेको छ।

कार्यशालामा प्रदेश सरकारको आन्तरिक व्यवस्थापन, सुशासन, बजेट, आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार, सेवा प्रवाह तथा पार्टी–सरकार समन्वयलगायत विषयमा ६ वटा समूह बनाएर गहन छलफल गरिएको थियो। पाथीभरा–वराहक्षेत्र, सगरमाथा–केचनकवल, सप्तकोशी–अरुण भ्याली, सिरिजंगा–श्रीअन्तु, हलेँसी–खुवालुङ र फाल्गुनन्द–बुढासुब्बा समूह बनाएर विषयगत बहस गरिएको थियो।

सम्पन्न जरा अभियानअन्तर्गतको कार्यशालामा कोशी प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख–उपप्रमुख, नगरपालिका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा कांग्रेसका केन्द्रीय, जिल्ला, क्षेत्रीय र स्थानीय तहका नेताहरूको सहभागिता रहेको थियो।

सुझावित समाचार