अष्टलक्ष्मी शाक्यले ओलीलाई भनिन्– एमाले पार्टी तपाईंको मात्र पेवा होइन

अहिले व्यक्तिको गुणगान र चाकरीमा खर्च गर्ने समय होइन, स–सम्मान बिदा हुनुस्

शनिबार, ९ जेठ, २०८३
डिजिटल संस्करण

नेकपा एमालेकी पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले पार्टी केपी शर्मा ओलीको मात्र पेवा नभएको बताएकी छिन्। शुक्रबारदेखि ओलीनिवास गुन्डुमा एमालेको सचिवालय बैठक जारी छ ।

बैठककै बिचमा उनले केही बेरअघि सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीको घमण्ड र गुटगत सोचउस्तै रहेको उल्लेख गर्दै एमाले केपी ओली गुटको कम्पनी नभएको दाबी गरिन्। उनले केपी ओलीले तीन कार्यकाल पार्टीको नेतृत्व गरिसकेकाले यति वेला कार्यकर्ताको भावना बुझ्न आग्रह गरिन् ।  

निर्वाचनपश्चात् गौरवपूर्ण इतिहास बोकेको नेकपा एमाले आज कमजोर स्थितिमा पुगेको भन्दै उनले  पुन: नेकपा एमालेलाई आन्दोलनको नेतृत्वमा पुर्याउन सकिने विश्वास व्यक्त गरेकी छिन्। समयको माग विचार ,सामूहिकता,संघर्ष र इमानबाट पार्टी नेतृत्व गर्ने वेला भएकाले युवापुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्न अनुरोध गरिन् ।

उनले लेखेकी छिन्, ‘अहिले पनि तपाईंले देखाउनुभएको दम्भ, घमण्ड र गुटगत सोच म उस्तै देख्छु। बलिदानको रगतले जन्मेको पार्टी हो एमाले। लाखौँ कार्यकर्ताहरूको त्याग र संघर्षबाट अगाडि बढेको पार्टी हो एमाले। यो पार्टी तपाईंको मात्र पेवा होइन। एमाले तपाईंको गुटको कम्पनी पनि होइन। त्यसैले, कमरेड सास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ। अहिले एक्काइसौँ शताब्दीमा छौँ हामी। आजको समयको माग विचार, सामूहिकता, संघर्ष र इमानबाट पार्टी नेतृत्व गर्ने वेला हो। अब युवापुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्छ।’

उनले यही बैठकबाट ससम्मान अध्यक्ष पदबाट बिदा हुन पनि ओलीलाई आग्रह गरिन्। ‘नेकपा एमाले पुनर्जीवित गर्न अन्धकारमा डुब्न लागेको एमाले फेरि उठाउन सकिन्छ। व्यक्तिको गुणगान र चाकरीमा खर्च गर्ने यो समय होइन। देश र जनताको हितमा निःस्वार्थ भावना राखेर काम गर्ने वेला हो। आजको समयको माग पनि यही हो,’ उनले भनिन्। 

सुझावित समाचार