- पर्खाइ जीवनको एउटा हिस्साजस्तै रहेछ । पर्खाइ सपना पनि हो, प्रेम पनि हो । यी दुवैसँग यसको गहिरो सम्बन्ध छ । प्रेम नभएको भए पर्खाइको अर्थ नै हुँदैनथ्यो । प्रेमले नै पर्खाइलाई महत्व दिएको छ ।
पर्खाइ प्रेमसँग, अनुभूतिसँग जोडिएको हुँदो रहेछ, बाल्यकालका केही पर्खाइका क्षण अझै सम्झनामा ताजै छन् । म त्यतिवेला ५–६ वर्षको हुँदो हुँ । घरमा कामको निकै चाप थियो । अधिकांश काम आमाजी एक्लैले गर्नुपर्थ्यो । बुबालाई घरको काम खासै मतलब हुँदैनथ्यो । हलो जोत्ने कामसमेत आमाजीले गर्नुहुन्थ्यो । कहिलेकाहीँ बुबाको दौरा–सुरुवाल लगाएर हलो जोत्नुभएको दृश्य अझै आँखामा ताजै छ ।
त्यो २०३० साल वरपरको समय हुनुपर्छ । त्यसवेला पहाडबाट मधेश झरेर झोडा फाँड्ने चलन थियो । पूर्वदेखि पश्चिमसम्मै यो लहर चलेको थियो । जसको शक्ति उसको भक्ति भनेजस्तै जसले जति जंगल फाँड्यो, त्यो जमिन उसकै हुन्थ्यो । त्यही परिवेशमा भोजपुरबाट बुबा–आमा उदयपुर झोडा फाँड्न झर्नुभयो ।
झोडा फाँडेर बसोवास गर्नेमध्ये हाम्रो परिवार पनि एक थियो । घरमा म जेठो छोरो थिएँ, त्यसैले भाइलाई हेर्ने जिम्मा प्रायः मेरै काँधमा पर्थ्यो । आमा बिहानै काममा निस्किनुहुन्थ्यो । कहिलेकाहीँ किनमेलका लागि हाटबजार पनि जानुहुन्थ्यो । त्यसवेला मलाई भाइको जिम्मा लगाएर जानुहुन्थ्यो ।
बारीमा टन्नै मकै फलेको थियो । त्यो मकै खान आउने ढेडु र बाँदर मैले धपाउनुपर्थ्यो । तर, बाँदरले कहाँ टेर्थ्यो र ! म धपाउन खोज्थेँ, म फुच्चे देखेर बाँदरहरूले टेर्दैनथे । एकातिर भाइ हुने, अर्कोतिर ढेडुँ बाँदरले नटेर्ने । बुबा घरमा नआउने । काममा जानुभएको आमाजी पनि वेलामा नफर्किने । साह्रै मुस्किलको समय बन्यो त्यो ।
आमाजी हाटबजार जानुभएका वेला कहिलेकाहीँ फर्किन ढिला हुन्थ्यो । भाइ साह्रै रुन्थ्यो । म आमा कहिले आउनुहुन्छ होला भनेर बाटो कुरिरहन्थेँ । गाउँघरमा गफिँदा पनि ढिला हुन्थ्यो सायद ।
एक दिन भाइले ओछ्यानमै दिसा गरिदियो । म आत्तिएँ । बिहान निस्कनुभएको आमा घाम पश्चिमतिर पुग्न लाग्दा पनि आउनुभएन । दिसा गरेको भाइलाई सम्हाल्न सकिनँ । भाइलाई घरमै छाडी अन्ततः म आमा खोज्न निस्किएँ ।
खोज्दै जाँदा जंगलमै बाटो बिराएँ । मधेशको झाडीमा न फर्किन सकेँ, न आमा भेटेँ । रुँदै भौतारिँदै जाँदा एकजना मगर परिवारको घरमा पुगेँ । त्यहाँ पुग्दा साँझ परिसकेको थियो । घरमा भाइको हालत के भयो होला ? आमाजी पुग्नुभयो कि भएन होला ? बाँदरले के–के बिगार गर्यो ? म पूरै अनभिज्ञ थिएँ । मगर परिवारले मलाई पुर्याउन सकेन । त्यहीँ एक रात बसेँ । त्यतिवेला फोन थिएन, घरमा खबर गर्ने कुनै उपाय पनि थिएन । भोलिपल्ट बिहान आमाजी मलाई खोज्दै आउनुभयो । मलाई लगेर जानुभयो ।
त्यसवेला पर्खाइको पीडा बेग्लै हुँदो रहेछ । एकातिर घरमा बाँदरले मकै सखाप पारिरहेका छन्, अर्कोतिर भाइले ओछ्यान फोहोर बनाएको छ । के गर्ने, कसो गर्ने भन्ने अन्योलमा म आमा खोज्न निस्किएको थिएँ । बुबा–आमा नभएको घर कति सुनसान हुन्थ्यो । त्यसवेला आमाको पर्खाइ निकै डरलाग्दो लाग्थ्यो । अहिले पनि सम्झँदा मन चिसो हुन्छ । त्यसवेला निकै सकसपूर्ण बनेको थियो ।
आमासँग जोडिएका बाल्यकालका पर्खाइ थुप्रै छन् । पछि हामी फेरि भोजपुर फर्कियौँ । खोइ किन हो, हामीले झोडा छोड्यौँ । गाउँमा पुग्दा पनि त्यस्तै पर्खाइ दोहोरियो । हामी बेँसीमा बस्थ्यौँ । आमाजी काममा निस्किनुहुन्थ्यो । उहाँ ढिलो गर्नुभयो भने म भाइलाई बोकेर आमा खोज्न हिँड्थेँ । बाटोमा देखिने मान्छेका पाइला आमाकै हो कि जस्तो लाग्थ्यो । त्यो पाइला पच्छ्याउँदै खोज्दै हिँडे ।
आमाले गाउँमा धेरै संघर्ष गर्नुभयो । तर, नसकेपछि म र माइला भाइलाई बोजुसँग छोडेर माइतीमा बस्न थाल्नुभयो । झोडा फाँड्दा आमा पर्खने क्रम गाउँ पुगेपछि पनि सुरु भयो । स्कुल जाँदा पनि आमालाई सम्झिन्थेँ । भोक लाग्दा पनि आमालाई सम्झिन्थेँ । अरूलाई आमासँग हिँडेको देख्थेँ । मावली पुग्न पनि ५–६ घण्टा लाग्थ्यो । आमालाई भेट्न वर्षमा एकपटक जान्थेँ । झन्डै ४–५ वर्ष आमा मावलीमै बस्नुभयो । बोजुले हामीलाई धेरै माया गर्नुहुन्थ्यो । तर, आमाको माया अलग हुनै नै भयो । कहिले आमा घर फर्किनुहोला जस्तो लाग्थ्यो ।
गाउँमा नयाँ मान्छे झोला बोकेर आउँदा आमा नै आएझैँ लाग्थ्यो । मावली गाउँबाट आउने मान्छेलाई सोध्थेँ । आमाको झल्को आउँथ्यो । त्यसवेला मनभित्र पीडा भइरहन्थ्यो । बोजु निकै कडा स्वभावकी हुनुहुन्थ्यो । बोजुसँग आमाको राम्रो मेलमिलाप थिएन । घर फर्किनू भन्दा आमा मान्नुहुन्नथ्यो ।
म त्यतिवेला ८–९ कक्षामा पढ्थेँ । स्कुलबाट घर फर्किंदा घरमा धेरै मान्छे जम्मा भएको देखेँ । मासुभातको भोज चलिरहेको रहेछ । घरमा आएका मान्छेले मलाई जिस्क्याउँदै भन्थे, ‘यसले पनि बाउको बिहे देख्यो है !’ घरमा बुबाले सानीआमा पो ल्याउनुभएछ । त्यसवेला आमाको धेरै सम्झना आयो ।
बुबाको बिहेको मासुभात खाएँ । केही महसुस नभएजस्तो गरेर खाएँ । मेरो आमामाथि सौता लगाइएको थाहा हुँदाहुँदै पनि केही व्यक्त गर्न सक्दिनथेँ । त्यसवेला आमालाई निकै सम्झिएँ ।
म करिब १४ वर्षको हुँदाको कुरा होला । एकदिन बोजुले भन्नुभयो, ‘जा, आमालाई लिएर आइजा ।’ त्यसपछि आमा घरमा आउने वातावरण बन्यो ।
मेरो बाल्यकालमा आमाको पर्खाइका धेरै चरण आए । मैले ती सबै समय भोगेँ । आमाको पर्खाइ धेरै लामो रह्यो । मान्छेको जीवनमा पर्खाइका अनेक किसिम हुन्छन् । पछि एसएलसी पास गरेर म काठमाडौं आएँ । त्यसपछि ८–१० वर्ष गाउँ फर्किनँ । कवि भएर सहरमै बस्न थालेँ । आमाले मलाई कति सम्झिनुभयो होला ? त्यसको कुनै लेखाजोखा छैन । म सहरमा छु, आमा गाउँमा । अब पर्खिने पालो आमाको सुरु भयो ।
समयले अवस्था ठ्याक्कै उल्टो बनायो । अब फेरि आमाले मलाई पर्खिन थाल्नुभएको छ । अहिलेजस्तो त्यतिवेला सजिलो थिएन । फोन थिएन, कुरा गर्न सकिँदैनथ्यो । जीवनमा पर्खाइ यसरी चलिरहेछ । अहिले आमा गाउँमै हुनुहुन्छ । मेरो किताब ‘सलह’ आमाको हातसम्म पुग्यो । तर, म भने आमालाई भेट्न पाएको छैन ।
जीवनमा पर्खाइका धेरै रूप हुँदा रहेछन् । मैले ‘सलह’ ल्याउँने क्रममा ६–७ महिना पर्खिएँ । प्रकाशकलाई दिएको ४–५ महिनापछि किताब बजारमा आयो । यो पनि बेग्लै खालको पर्खाइ भयो । कहिले बजारमा आउला, छिट्टै आए हुन्थ्यो । किन ढिला भयो होला भन्ने लाग्थ्यो । त्यसैले लाग्छ, पर्खाइ जीवनको एउटा हिस्सा जस्तै रहेछ । पर्खाइ सपना पनि हो, प्रेम पनि हो । यी दुवैसँग यसको गहिरो सम्बन्ध छ । प्रेम नभएको भए पर्खाइको अर्थ नै हुँदैनथ्यो । प्रेमले नै पर्खाइलाई महत्व दिएको छ ।
जीवनमा अझै सुन्दर कविता लेखिन बाँकी छ । त्यो पनि एउटा पर्खाइ हो । लेखकको विश्वासले पाठकलाई पर्खिरहेको हुन्छ । पर्खाइको भोकले पनि लेखाउँदो रहेछ । मैले पहिलो उपन्यास ‘सलह’ लेखेँ । तर, पाठकले दोस्रो कृति खोज्न थाल्छन् । त्यो पनि एउटा पर्खाइ हो । जब पाठकलाई तपार्इंको सिर्जनामा चित्त बुझ्छ, तब अर्को कृतिको पर्खाइ सुरु हुन्छ । मलाई लाग्छ, पर्खाइ अनुशासन पनि रहेछ । जब विश्वास हराउन थाल्छ, तब मानिसले पर्खन छोड्छ ।
बाल्यकालमा आमाको पर्खाइका दिन अझ विशेष लाग्छन् । संवेदित पनि बनाउँदो रहेछ । अहिले पनि बाल्यकालका ती पर्खाइका क्षण र त्यसले दिएको पीडाले ऊर्जा दिन्छ । लेख्नका लागि दुःख पनि एउटा स्रोत हो । त्यसले ऊर्जा नै दिन्छ ।
– कुराकानीमा आधारित