रोनाल्डोले जिते पहिलो साउदी प्रो लिग

शनिबार, ९ जेठ, २०८३
डिजिटल संस्करण
  • सन् २०२३ मा साउदी प्रो लिगमा आबद्ध भएका क्रिस्टियानो रोनाल्डोले तेस्रो प्रयासमा अल नासरलाई उपाधि दिलाए

क्रिस्टियानो रोनाल्डोले तेस्रो प्रयासपछि साउदी प्रो लिगको उपाधि हात पारेका छन् । साउदी प्रो लिगको अल नासर क्लबमा आबद्ध भएको चौथो सिजनमा उनले पहिलोपटक उपाधि चुमेका हुन् । यस सिजन अन्तिम खेलमा बिहीबार अल नासरले दमाकलाई ४–१ ले पराजित गरेपछि रोनाल्डोले पहिलोपटक साउदी प्रो लिग ट्रफी उचालेका हुन् । सन् २०२३ को सुरुवातमै इंग्लिस प्रिमियर लिग म्यानचेस्टर युनाइटेड परित्याग गरी उनले विश्व फुटबललाई अचम्ममा पार्दै एसियन क्लब अल नासर रोजेका थिए । उनले लिग जित्न तीन वर्ष प्रतिस्पर्धा गरेका छन् ।

व्यावसायिक फुटबल करिअरमा रोनाल्डोले यसअघि युरोप भूमिमा इंग्ल्यान्ड, स्पेन र इटालीमा घरेलु लिग उपाधि हात पारेका थिए । यो अल नासरको ११औँ लिग उपाधि भने रोनाल्डोको करिअरको आठौँ घरेलु लिग उपाधि हो । उनले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्ट्सबाट लिग जितेका थिए ।

समग्रमा अल नासरले कट्टर प्रतिद्वन्द्वी अल हिलाललाई पछि पार्दै सन् २०१९ पछि पहिलोपटक लिग उपाधि जित्यो । जितपछि अल नासरले ३४ खेलबाट सर्वाधिक ८६ अंक बनायो । दोस्रो स्थानको अल हिलाललाई दुई अंकले पछि पार्दै अल नासरले उपाधि हात पार्यो । अल हिलालले अल पेइहालाई १–० ले पराजित गरे पनि उपाधि जित्न पर्याप्त भएन । अल नासरका लागि रोनाल्डोले दुई गोल गरेका थिए । उनले खेलको ६३औँ र ८१औँ मिनेटमा गोल गरे । रोनाल्डोका दुवै गोल उत्कृष्ट रहे । अल नासरका लागि साडियो मानेले ३२औँ मिनेटमा गोल गरेका थिए । 

यसैगरी, खेलको ५२र्औँ मिनेटमा किंग्स कोमनले टोलीलाई २–० को अग्रता दिलाए । दमाकका लागि मोरलाया सिलाले ५८औँ मिनेटमा पेनाल्टीमा गोल गरे । यस सिजनमा अल नासर र अल हिलालबिच १२ मेमा भएको खेललाई साउदी लिग इतिहासकै सबैभन्दा ठुलो खेल मानिएको थियो । यो खेल एक सय ८० भन्दा बढी राष्ट्रमा हेरिएको थियो ।

रोनाल्डोको आगमनपछि साउदी प्रोको चर्चा
४१ वर्षीय रोनाल्डोले साउदी अरबमा यहाँको फुटबल कल्चर विकास गर्न अल नासरसँग आबद्धता जनाएका थिए । उनले सुरुमै भनेका थिए ‘म एसियामा फुटबल संस्कृति विकास गर्न आएको हुँ । यसको ब्रान्डिङ विश्वभरि नै गर्नेछु ।’ अल नासरले सन् २०२२ को डिसेम्बरमा म्यानचेस्टर युनाइटेड छाडेपछि रोनाल्डोलाई प्रस्ताव गरेको थियो । त्यसवेला उनलाई डेभिड बेकह्यामको लगानीमा रहेको इन्टर मियामीबाट पनि राम्रो प्रस्ताव नआएको होइन । तर, उनले आर्थिक पक्ष र नयाँ चुनौती सामना गर्ने भनी अल नासरसँग सम्बन्ध गाँसे । जसले विश्व फुटबललाई चकित बनाएको थियो । त्यससँगै साउदीको खेलकुद परियोजनालाई विश्वमञ्चमा पुर्याउने प्रयास पनि सुरु भयो । साउदी प्रो लिगमा आफ्नो सय गोल पूरा गरेका रोनाल्डोले क्लबका लागि सबै प्रतियोगितामा एक सय २९ गोल गरिसकेका छन् । अल नासरले उनलाई अनुबन्ध गर्नुको मुख्य उद्देश्य उपाधि जित्नु थियो । 

चर्चित खेलाडी साउदी प्रोमा 
रोनाल्डोको आगमनसँगै साउदी फुटबलमा ठुलो परिवर्तन आएको देखिन्छ । वर्तमान समयमै उत्कृष्ट खेलाडी साउदी प्रो लिगमा आगमनपछि तत्काल करिम बेन्जेमा, एन्गोलो कान्टे, रियाद माहरेज, साडियो माने र नेमारलगायत चर्चित खेलाडी साउदीमा प्रवेश गरे । यी सबै खेलाडी साउदी प्रो लिगका बिग फोर क्लबमा पुगे । रियादका अल हिलाल र अल नासर, जेद्दाहका अल अहली र अल इत्तिहादलाई साउदी प्रो लिगका सबैभन्दा धनी क्लबका रूपमा लिने गरिन्छ । सन् २०२३ को गर्मीयाममा यी चार क्लबलाई साउदीको सार्वजनिक लगानी कोष पब्लिक इन्भेस्टमेन्ट फन्ड (पिआइएफ)ले नियन्त्रणमा लिएको थियो । यही कोषले प्रिमियर लिग न्युक्यासल युनाइटेडमा पनि लगानी गरेको छ । रोनाल्डोले साउदी प्रो लिगलाई ब्रान्डिङ गर्न सके विश्वकै राम्रो प्रिमियर लिगमा पर्ने बताए । ‘यहाँको लिग राम्रो होइन भन्नेलाई एकपटक आएर खेल्दा प्रस्ट हुन्छ,’ उनले भने । 

सुझावित समाचार