नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । चेम्बरले शुक्रबार विज्ञप्ति जारी गर्दै नयाँ दर्ता रोक्ने कार्यले अटोमोबाइल व्यवसायमा ठुलो आर्थिक जोखिम ल्याउने भएकाले त्यसबाट पछि हट्न सरकारलाई आग्रह गरेको हो ।
यातायात व्यवस्था विभागले ‘सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नभएसम्म सम्पूर्ण सार्वजनिक सवारीसाधन (इलेक्ट्रिकसमेत)को दर्ता रोक्का गरिएको’ भन्दै जारी गरेको निर्णयले अटोमोबाइल व्यवसायीहरू ठुलो आर्थिक जोखिममा परेको चेम्बरले दाबी गरेको छ ।
सार्वजनिक सवारी व्यवस्थापनलाई वैज्ञानिक, व्यवस्थित र दीर्घकालीन बनाउन सरकारद्वारा ल्याउन लागिएको नीति स्वागतयोग्य भए पनि व्यवसायीहरूसँग कुनै पूर्वसूचना, छलफल वा समन्वय नगरी हठात् रूपमा दर्ता रोक्का गर्ने निर्णय गरिनु व्यावहारिक नभएको चेम्बरले उल्लेख गरेको छ ।