अध्यागमनमा डिजिटल टाइम कार्ड

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण

अध्यागमन सेवासँग सम्बन्धित सेवाग्राहीले आफ्नो कामको प्रगति विवरण संसारको जुनसुकै कुनाबाट हेर्न सक्ने भएका छन् । अध्यागमन विभागले डिजिटल टाइम कार्ड (डिटिसी) प्रणाली कार्यान्वयनमा ल्याएपछि यस्तो सुविधा थप भएको हो । यसका लागि सेवाग्राहीले विभागबाट उपलब्ध क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ । सोही कोडमा सेवाग्राहीले आफ्नो पासपोर्ट नम्बर र उपलब्ध कोड सबमिट गर्नुपर्ने हुन्छ । त्यसपछि सेवाग्राहीले आफ्नो कामको प्रगति विवरण सहजै हेर्न सक्नेछन् । यो सेवा संसारभरको जुनसुकै कुनामा बसेर हेर्न सकिन्छ । 

विभागका प्रवक्ता टीकाराम ढकालले सेवाग्राहीको सुविधाका लागि विभागले डिटिसी प्रणाली कार्यान्वयनमा ल्याएको बताए । ‘अध्यागमनको सेवालाई थप प्रभावकारी बनाउन डिटिसी प्रणाली कार्यान्वयनमा ल्याएका छौँ । यो प्रणालीबाट सेवाग्राहीले जुनसुकै ठाउँमा बसेर आफ्नो कामको प्रगति विवरण अध्ययन गर्न सक्नेछन् । यसले सेवाग्राहीले सुविधा त दिएको छ नै, अध्यागमनका कर्मचारीलाई पनि सेवाग्राही प्रति थप उत्तरदायी बनाएको छ,’ उनले भने ।

विभागका अनुसार डिटिसी प्रणाली विदेशबाट भिसा अप्लाई गर्ने र भिसाको म्याद थप गर्ने चाहने नेपालमा बसेका विदेशी नागरिकका लागि उपयोगी हुनेछ । नेपाल आउन चाहने जुनसुकै देशका नागरिकले सम्बन्धित मुलुकबाटै इटिए (इलेक्ट्रोक ट्राभल अथराइजेसन) प्रणालीबाट भिसा अप्लाई गर्न सक्छन् । सम्बन्धित आवेदकलाई भिसा उपलब्ध गराउनुअघि प्राप्त आवेदनमाथि विभिन्न चरणमा अध्ययन गर्नुपर्नेछ । सबै पक्षबाट अप्रुभ भएपछि मात्रै आवेदकले भिसा प्राप्त गर्छ । त्यसो हुँदा यस प्रक्रियाले केही समय लिन्छ । जसको जानकारी आवेदकलाई नहुन सक्छ । 

तर, क्युआर कोडले यो समस्या समाधान गरिदिएको छ । यसका लागि आवेदकले कोड स्क्यान गर्नुपर्छ । कोडमा आफ्नो पासपोर्ट नम्बर र आवेदन दिँदा प्राप्त नम्बर टाइप गर्नुपर्छ । त्यसलगत्तै स्क्रिनमा आफ्नो कामको प्रगति डिस्प्ले हुन्छ । र, सोहीअनुसार आवेदकले सेवा प्राप्त गर्न सक्छ । विभागका प्रवक्ता ढकालका अनुसार सेवाग्राहीले शुल्कसमेत डिजिटल प्रणालीमार्फत संसारको जुनसुकै ठाउँमा बसेर भुक्तानी गर्न सक्नेछन् । ‘आफ्नो कामको प्रगति विवरण हेर्न सजिलो होस् भनेर क्युआर कोड सम्बन्धित सबै कार्यालयमा उपलब्ध गराएका छौँ । विभागको वेबसाइटमा पनि कोडलाई राखेका छौँ । सोही कोड स्क्यान गरेर सेवाग्राहीले आफ्नो कामको प्रगति विवरण अध्ययन गर्न सक्नेछन् । शुल्क पनि अनलाइनबाटै भुक्तानी गर्न सक्नेछन्,’ उनले भने ।

विभागका अनुसार भिसा थप गर्ने चाहने आवेदकले पनि सोही तरिका अपनाएर आफ्नो कामको प्रगति विवरण अध्ययन गर्न सक्नेछन् । यो सेवा लिँदा कुनै शुल्क भुक्तानी गर्नुपर्दैन । इटिए प्रणालीबाट भिसा अप्लाई गर्ने संख्या प्रत्येक दिन साढे पाँच सयभन्दा धेरै छ । त्यस्तै, भिसाको म्याद थप गर्नेको संख्या पनि सोही दरमा रहेको विभागले जनाएको छ । 

सुझावित समाचार