चालू आर्थिक वर्ष ०८२/८३ को १० महिनामा सेयर कारोबारबाट सरकारलाई प्राप्त हुने पुँजीगत लाभकर ३५.३४ प्रतिशतले घटेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)बाट प्राप्त माघ मसान्तसम्मको तथ्यांकले सेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकर घटेको देखाएको हो । चालू आवको १० महिनामा नौ अर्ब ११ करोड २९ लाख ५६ हजार पुँजीगत लाभकर उठेको तथ्यांक छ । अघिल्लो वर्षको सोही महिनामा १४ अर्ब नौ करोड ४२ लाख पुँजीगत लाभकर उठेको थियो । गत आव ०८१/८२ मा भने १६ अर्ब ५४ करोड ३७ लाख संकलन भएको तथ्यांक छ ।
गत आवमा सेयर बजार बढ्दो क्रममा थियो । चालू आवमा भने सेयर बजार अस्थिरजस्तो छ । गत असार मसान्तसम्म नेप्से परिसूचक २७९४.७८ विन्दुमा थियो । त्यसयता नेप्से परिसूचक थपघट हुँदै आएको छ । वैशाख मसान्तमा नेप्से २७३०.१८ विन्दुमा थियो । यो तथ्यांकले नेप्सेको अस्थिर अवस्था देखाउँछ । त्यसले गर्दा लगानीकर्ताले सेयर खरिद–बिक्री गरेर कमाउने नाफा पनि प्रभावित भएको छ । सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले सेयर बजारको प्रभाव पुँजीगत लाभकर संकलनमा पनि पर्ने बताउँछन् । ‘यो वर्ष गत वर्षको तुलनामा यस्तो पुँजीगत कर संकलन घटेको देखिएको छ । यसले लगानीकर्ताले कमाउने नाफा घटेको देखाउँछ,’ उनले भने ।
सेयर कारोबारमा हुने खुद नाफामा दीर्घकालीनतर्फ पाँच प्रतिशत र अल्पकालीनतर्फ ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । कुनै लगानीकर्ताले सेयर किनेर एक वर्षपछि बिक्री गर्दा हुने नाफामा पाँच प्रतिशत कर तिर्नुपर्छ । यसैगरी, लगानीकर्ताले सेयर किनेको एक वर्षभित्र बिक्री गर्दा हुने नाफामा भने ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ । संस्थागत रूपमा सेयर कारोबार गर्नेले खुद नाफाको १० प्रतिशत कर तिर्नुपर्छ । सेयर कारोबार गर्दा घाटा भएमा कर तिर्नुपर्दैन । पछिल्लो समय लगानीकर्ताले धेरै नाफा कमाउन सकेका छैनन् ।
कुन महिना कति उठ्यो पुँजीगत लाभकर
तथ्यांकअनुसार चालू आवको साउन महिनामा दुई अर्ब १५ करोड ७५ लाख ६९ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको थियो । त्यसैगरी, भदौमा ६० करोड १४ लाख ९९ हजार रुपैयाँ, असोजमा २४ करोड ३६ लाख ५६ हजार रुपैयाँ र कात्तिकमा ३८ करोड पाँच लाख ९९ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको थियो । यसैगरी, मंसिरमा ६२ करोड ९८ लाख २० हजार रुपैयाँ, पुसमा ५८ करोड ४३ लाख ५७ हजार रुपैयाँ र माघमा एक अर्ब २९ करोड १९ लाख २० हजार रुपैयाँ पुँजीगत लाभकर उठेको तथ्यांकमा उल्लेख छ । यस्तै, फागुनमा ५५ करोड १५ लाख ८१ हजार रुपैयाँ चैतमा एक अर्ब ७३ करोड ५७ लाख ८२ हजार रुपैयाँ र वैशाखमा ९३ करोड ६१ लाख ६८ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको छ ।