देशको मौसममा यति वेला दोहोरो प्रभाव देखिएको छ । गण्डकीदेखि पूर्वी क्षेत्रमा प्रि–मनसुन सक्रिय बनेर पानी परेको छ । तर, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने मौसम सुक्खा छ । अझ त्यहाँका उपत्यका र तराई क्षेत्रमा तातो हावाको लहर चलिरहेको छ ।
बिहीबार इलामको कन्याममा १५२ मिलिमिटर पानी परेको छ । जबकि पश्चिममा रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा भने तापक्रम ३६.७ देखि ४१ डिग्री सेल्सियससम्म मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले पोखरा क्षेत्रमा बादल लागेर त्यहाँदेखि पूर्वी क्षेत्रमा पानी परे पनि पश्चिममा सुक्खा रहेको बताए । ‘प्रि–मनसुन अघिल्लो साताजस्तो देशभर सक्रिय छैन । खण्डित वर्षा भइरहेको छ,’ उनले भने, ‘पश्चिम लुम्बिनीसहितका पश्चिम क्षेत्रमा अझै आइतबारसम्म गर्मी नै हुने देखिन्छ ।’ यसबाहेक पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावले पनि पानी परिरहेको हो ।
विभागका अनुसार शुक्रबार र शनिबार पनि गण्डकीदेखि पूर्वी क्षेत्रमा वर्षाको सम्भावना छ । तर, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने तातो हावा चल्नेछ ।
वर्षाले पूर्वी तराई र उपत्यका क्षेत्रमा राहत भएको छ । तापक्रम निरन्तर उकालो लागिरहेका वेला बिहीबार कोशी, बागमती र गण्डकीमा पानी परेको हो । पश्चिम मधेशमा भने ठुलो पानी नपरे पनि बादल लाग्दा केही राहत भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार विराटनगरमा ३७, संखुवासभाको चैनपुरमा ६२.६, सिराहामा ३६.२, सिन्धुपाल्चोकको गोब्रेमा ८३.२, काठमाडौंको कपनमा ३६.२, गोरखामा ४८.४, चितवनको खैरहनीमा ६०.२ र पोखरामा ५५.६ मिलिमिटर पानी परेको छ ।
नेपालगन्ज, धनगढी र दिपायलमा तापक्रम उच्च
पश्चिममा नेपालगन्ज, धनगढी र दिपायललगायत क्षेत्रमा बिहीबार तापक्रम उच्च मापन भएको छ । ती क्षेत्रमा पानी परेको छैन ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालगन्जको अधिकतम तापक्रम ४१.५ र न्यूनतम २८ डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै, धनगढीमा अधिकतम ४१.३ र न्यूनतम २५.८ तथा दिपायलमा अधिकतम ४१.४ र न्यूनतम २१.४ डिग्री सेल्सियस मापन भएको छ । तुलनात्मक रूपमा कम गर्मी हुने डडेल्धुराको तापक्रम पनि ३०.८ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा ३८.२, दाङको घोराहीमा ३६.७, भैरहवामा ३८.५ र सिमरामा ३४.२ डिग्री सेल्सियस मापन भएको छ ।