ठुला ठेक्का टुक्र्याएर मात्रै दिन पूर्वअर्थमन्त्री डा. महतको सुझाव

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण
ठुला ठेक्का टुक्र्याएर मात्रै दिन पूर्वअर्थमन्त्री डा. महतको सुझाव

फाइल तस्बिर

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले पाँच अर्बभन्दा माथिका ठेक्का टुक्र्याएर मात्र दिन सरकारलाई सुझाव दिएका छन्। ठुला ठेक्कामा केही सीमित व्यक्तिको मिलोमतो देखिएको भन्दै पूर्वअर्थमन्त्री महतले यसलाई रोक्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सुझाव दिएका हुन्।

आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिन अर्थमन्त्री डा. वाग्लेले बोलाएको छलफलका क्रममा महतले नेपाल एयरलाइन्सलाई निजीकरणको मोडलमा सञ्चालन गर्नुपर्ने बताए। ‘नेपाल एयरलाइन्सलाई मैले निजीकरण मोडलमा चलाउन सकिन। गर्छु भनेको गर्न सकिन, तर तपाईं गरिहाल्नुस्। नत्र यो निकै कठिन हुन्छ। सरकारले धान्न सक्दैन,’ महतले भने।

उनले उत्पादन देखाएर मात्रै अनुदान ग्यारेन्टी गर्ने नीति लिन, आयातीत कृषि उपजमा भ्याट लगाउन र पर्यटन क्षेत्रमा बाह्रै महिना चल्ने सडक बनाउनुपर्नेमा जोड दिएका छन्।

डा. महतले हुने खानेलाई सामाजिक सुरक्षा भत्ता दिन नहुने बताउँदै नचाहिने संरचना हटाउन र वैदेशिक ऋण अत्यावश्यकबाहेकमा घटाउन सुझाएका छन्। सरकारी उद्योग र जमिन निजी क्षेत्रलाई लिजमा दिनुपर्ने उनको धारणा थियो।

सुझावित समाचार