सुशासनको जगमा टेकेर आमनेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउँछौँ : अर्थमन्त्री वाग्ले

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सुशासनको जगमा टेकेर आमनेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी गरिरहेको बताएका छन्।

आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिने क्रममा अर्थमन्त्री डा. वाग्लेले यस्तो बताएका हुन्। डा. वाग्लेले बुधबार बजेट निर्माणमा ८ जना पूर्वअर्थमन्त्रीहरूसँग नयाँ बजेटमा सुझाव लिएकाे उनको सचिवालयले जनाएको छ।

सो क्रममा उनले भने, ‘बजेटको अन्तिम समयमा छु। तपाईंहरूको राम्रो अनुभवसहितको कार्यक्रम अनुसरण गर्दै जाने हो। नयाँ परिस्थितिमा आउन लागेको नयाँ बजेटमा सुझाव पाऊँ। हामी सुशासनको जगमा टेकेर आमनेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी गरिरहेका छौँ।’

सरकार यसअघिका अर्थमन्त्रीहरूको राम्रो कामको अनुसरण गर्दै अघि बढ्ने प्रस्ट पार्दै उनले यही व्यवस्था र यही राजनीतिक उपलब्धिबाटै समृद्धि हासिल हुने बताए।

‘हामी तपाईंहरूले गर्नुभएको राम्रो कामको अनुसरण गर्दै अघि बढ्ने हो। मैले पटक-पटक भन्ने गरेको छु, हाम्रा अग्रजले देखाएको बाटो नै हिँड्ने हो। यही व्यवस्था र यही राजनीतिक प्राप्तिबाटै  समृद्धि हासिल गर्ने हो,’ उनले भने।

छलफलमा पूर्वअर्थमन्त्रीहरु रामेश्वर खनाल, डा. युवराज खतिवडा, शंकर कोइराला, डा. प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, डा. प्रकाशशरण महत, वर्षमान पुन, विष्णुप्रसाद पौडेल र जनार्दन शर्मा सहभागी थिए।

सुझावित समाचार