युवामा प्राविधिक शिक्षा, सिप विकास तथा रोजगारमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यसहित ‘लुम्बिनी सिप च्याम्पियनसिप २०८३’ हुने भएको छ। ‘प्राविधिक शिक्षामा जोड, रोजगारीको अवसरमा नयाँ मोड’ भन्ने मूल नारासहित रुपन्देही उद्योग संघले कार्यक्रम आयोजना गर्न लागेको हो। लुम्बिनी प्रदेशमै यस किसिमको कार्यक्रम पहिलोपटक हुन लागेको संघले दाबी गरेको छ।
संघले बुधबार पत्रकार सम्मेलन गर्दै यही जेठ ८ गते बिहान १० बजेदेखि तिलोत्तमामा कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको हो। कार्यक्रम सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेशको समन्वय तथा ‘दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना (इन्स्योर दोस्रो चरण)’को सहयोगमा आयोजना हुन लागेको हो।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले हाल उद्योग तथा व्यवसाय क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको माग र बजारमा उपलब्ध जनशक्तिको सिपबिच असन्तुलन देखिएकाले त्यसलाई कम गर्न कार्यक्रम उपयोगी हुने बताए। उनले उद्योग, तालिम प्रदायक संस्था, प्राविधिक शिक्षालय, सरकारी निकाय तथा प्रशिक्षार्थीबिच सहकार्य र समन्वयलाई सुदृढ गर्दै दक्ष जनशक्ति उत्पादन, रोजगारीका अवसर प्रवर्द्धन तथा स्वदेशमै सम्मानित रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
कार्यक्रम नेपाल सरकार र स्विट्जरल्यान्ड सरकारबिचको द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालित परियोजनाको सहयोगमा हुन लागेको अध्यक्ष पराजुलीले जानकारी दिए। उनका अनुसार कार्यक्रममार्फत युवालाई सिपमूलक शिक्षातर्फ आकर्षित गर्दै उद्योग क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
इन्स्योर परियोजनाका लुम्बिनी प्रदेश प्रमुख अम्बिकाप्रसाद तिमिल्सिनाका अनुसार कार्यक्रममा सूचना प्रविधि, अटोमोबाइल इन्जिनियरिङ तथा होटेल व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थीबिच प्रत्यक्ष सिप प्रतिस्पर्धा गराइनेछ। उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई पुरस्कार तथा सम्मान प्रदान गरिने आयोजकले जनाएको छ।
त्यस्तै, आर्थिक वर्ष ०८०/८१ को औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रमअन्तर्गत प्रि–डिप्लोमा तहको परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रशिक्षार्थी, ८० प्रतिशतभन्दा बढी नतिजा हासिल गर्ने शिक्षालय तथा बढी प्रशिक्षार्थीलाई रोजगारी उपलब्ध गराउने उद्योगलाई सम्मान गरिने कार्यक्रम छ।
कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीले तयार गरेका उद्यमशीलता चुनौती परियोजनाको प्रदर्शनीसमेत गरिनेछ। साथै प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको वर्तमान अवस्था, चुनौती तथा अवसरबारे विज्ञहरूसँग प्यानल छलफल आयोजना गरिने आयोजकले जनाएको छ।