नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग पार्टी एकताका लागि कुनै छलफल नभएको बताएका छन्। प्रेस चौतारी दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले पार्टी एकताको आवश्यकता बोध पनि नभएको बताए।
‘पार्टी एकताका विषयमा छलफल गरिरहेका छैनौँ, आवश्यकता पनि बोध गरिरहेका छैनौँ,’ उनले भने, ‘समग्र लोकतान्त्रिक शक्तिहरूबिच कार्यगत एकताको कुरा भने गरिरहेका छौँ ।’ सरकारलाई अधिनायकवादतर्फ उन्मुख भइरहेको भन्दै यसलाई रोक्नका लागि लोकतान्त्रिक शक्तिहरूबिचको कार्यगत एकताका लागि भने छलफल भइरहेको उनको भनाइ छ ।
पछिल्लो समय सरकारप्रति जनतामा बढ्दै गएको भय, त्रासको वातावरण कम गर्न तथा खोसिँदै गएका लोकतान्त्रिक अधिकारलाई पुनर्स्थापन गर्नका लागि प्रमुख राजनीतिक दलको एकता आवश्यक पर्ने उनको भनाइ छ । साथै उनले एमालेमा पुनर्जागरण र पुनर्गठनको आवश्यकतासमेत बोध भइरहेको बताए। उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन चाहेपछि सदस्यता दिएकोसमेत बताए ।