राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिनकुमार आचार्यले काम गर्दा कर्मचारी, पारिश्रमिक माग्दा भिखारी प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद आचार्यले देशभरका निजी क्षेत्रमा कार्यरत धेरैजसो श्रमिकले आज यस्तै एउटै पीडा भोग्नुपरेको उल्लेख गरे ।
स्कुलदेखि मिडियासम्म र रेस्टुरेन्टदेखि बैंकसम्म श्रमको नभई श्रमिकको मूल्य नापिने प्रवृत्ति रहेको उल्लेख गरे । ‘एक त थोरै पारिश्रमिक, त्यो पनि महिनौँ नपाउने अवस्था । महिनाको अन्त्यसँगै अनिवार्य तलब भुक्तानी, ओभरटाइमको हिसाब, इन्टर्नलाई मर्यादित व्यवहार र तल ढिलाइ गर्दा ब्याजसहित दिनुपर्ने कडाइ कानुनी व्यवस्था र अनुगमनको संयन्त्रको जोडदार माग गर्दछु,’ उनले भने ।
महिनाको अन्त्यसँगै अनिवार्य तलब भुक्तानी गर्न र तलब ढिलो दिँदा ब्याजसहित दिनुपर्ने कडा कानुनी व्यवस्था मिलाउन उनले सरकारसँग माग गरे। श्रमको सम्मान नगर्दासम्म अर्थतन्त्र कहिल्यै दिगो नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।