थाइल्यान्डले गर्‍यो पर्यटकको भिसामुक्त बसाइ अवधि कटौती

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

थाइल्यान्डले पर्यटकहरूका लागि दिँदै आएको भिसामुक्त अवधिमा भारी कटौती गर्ने भएको छ । मंगलबार त्यहाँको मन्त्रिपरिषद्ले ९० भन्दा बढी देशका पर्यटकहरूका ६० दिनसम्म विनाभिसा देशमा बस्न दिने योजनालाई सीमित गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । 

यसअघि जुलाई २०२४ मा कोरोना महामारीपछि सुस्त अर्थतन्त्रको पुनरुत्थानलाई प्रोत्साहित गर्न सरकारले सम्पन्न देशका नागरिकलाई ६० दिनसम्म विनाभिसा बस्न दिने योजना कार्यान्वयन गरेको थियो । त्यस योजनामा संयुक्त राज्य अमेरिका, इजरायल, दक्षिण अमेरिकाका केही भाग र युरोपका २९ राष्ट्रिय सेन्जेन क्षेत्रका नागरिकहरू समावेश थिए । 

नयाँ रूपरेखाअन्तर्गत, सरकारले भिसामुक्त बसाइ अवधिलाई दुई तहमा विभाजन गरेर एक तहका देशका नागरिकलाई ३० दिनमा सीमित गरेको छ भने अर्को समूहका देशका लागि केवल १५ दिनमा घटाइएको छ । ‘केही देशका नागरिकले हाम्रो उदार योजनाको दुरुपयोग गरेको पाइएको थियो । यसलाई सम्बोधन गर्न नयाँ योजना ल्याइएको हो,’ थाई सरकारकी प्रवक्ता रचदा धनादिरेकले बैंककमा पत्रकारहरूलाई भनिन् । पर्यटन थाई अर्थतन्त्रको बलियो स्तम्भ भए पनि देशको सुरक्षा चासोलाई पनि महत्व दिनुपर्ने आवश्यकता रहेको उनले बताइन् । 
 

सुझावित समाचार