गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय सरकारको काम नीति बनाउने र काम गर्ने प्रदेश र स्थानीय सरकारले भएको बताएका छन्। बागलुङ नगरपालिकाका जनप्रतिनिधिले पदबहाल गरेको चार वर्ष पुगेको अवसरमा आयोजित ‘विकास र समृद्धिको यात्रामा हाम्रो चार वर्ष’ कार्यक्रममा बोल्दै पाण्डेले संघीय सरकारले नीति मात्र बनाएर प्रदेश र स्थानीय तहलाई काम गर्न दिनुपर्नेमा जोड दिए।
उनले संघ र प्रदेश सरकारको सहकार्य नभए विकास असम्भव हुने भएका कारण संघले नीति बनाउने, प्रदेश र स्थानीय तहले विकास गर्नुपर्ने बताए । पाण्डेले हिजोसम्म केही भएन, अहिले सबै काम भयो भन्न थालियो भने नेपालीको प्रगति हुन नसक्ने भनाइ राखेका थिए। अहिले प्रदेश सरकार र स्थानीय सरकारले गरेका काम जनतालाई देखाउन नसक्दा जनप्रतिनिधि र राजनीतिक नेताप्रति जनताको आक्रोश बढेको बताए।
उनले स्थानीय सरकार नजिकको सरकार भएको र सबै आवश्यकता र समस्या देख्ने भएको हुँदा सबैभन्दा बढी काम पनि स्थानीय सरकारले नै गरेको बताए । ‘हामीले गरेका कामको फेहेरिस्त जनतालाई देखाउन किन कन्ज्युस्याइँ गरियो ? यसबाटै नागरिकले राजनीतिलाई बेवास्ता गरे,’ उनले भने, ‘अर्थमन्त्रीको श्वेतपत्र हेर्दा धेरै विकासका जगहरू संविधान जारी भएपछिको दश वर्षमा सम्पन्न भएका रहेछन् ।’ भदौअघि केही नभएको, फागुनपछि विकास भएको भाष्यबाट बाहिर निस्कन उनले आग्रह गरे ।
चार हजार मेगागाट बिजुलीबाट ११ हजार मेगावाटमा पुगेको नेपालमा के–कति काम भयो आमनागरिकले बुझ्नुपर्ने उनले बताए । ‘हामीले सुशासनमा केही कमजोरी गरेका हौँ, अझै पनि प्रशासन सुधार गर्न सकिन्छ,’ उनले भने, ‘सडक, खानेपानी, स्वास्थ्य र शिक्षामा उल्लेख्य प्रगति गरेको कुरा हामीले देखाउन पनि सकेनौँ ।’ ५१ वर्षबाट औसत उमेर ७२ वर्ष पुगेको, माध्यमिक विद्यालय पढ्न घर छाड्ने अवस्थाबाट घरछेवैमा गुणस्तरीय शिक्षा पाउने, पालिका तहमै अस्पताल र चिकित्सकको सेवा पाउने कामलाई उपलब्धि मान्नुपर्ने उनले बताए ।
अहिले पनि संघ सरकारले प्रदेशलाई बेवास्ता गर्दा विकासबाट जनताले लाभ लिन नसकेको उनको भनाइ छ। ‘नजिकको स्थानीय सरकारले दैनिक आवश्यकताका काम गर्ने, प्रदेश सरकारले विकास निर्माण गर्ने र संघले नीति बनाउने हो,’ उनले भने, ‘संघले प्रदेश र स्थानीय सरकारको अधिकारमा हस्तक्षेप गर्ने होइन ।’ उनले स्थानीय मदिरा र गाजाँलाई वैधानिकता दिने नीति बनाएर लागू गर्ने काममा पनि संघीय सहमतिले ढिला भएको बताए ।
बागलुङ नगरपालिकाले चार वर्षमा बालमैत्री नगर घोषणा, छाडा कुकुर राख्ने होस्टेल निर्माण, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । त्यसबाहेक पूर्वाधारतर्फ दर्जन पर्यटकीय क्षेत्रको विकास, ग्रामीण सडकहरू कालोपत्र गरिएको र सुन्तलासहितका फलफूल उत्पादन बढाएर आर्थिक विकासमा जोड दिएको श्रेष्ठले जानकारी दिए । संस्थागत सुशासनलाई प्राथमिकता दिएर कार्यालय व्यवस्थापन, सबै सेवा अनलाइनमार्फत दिने, सेवा प्रवाहको तथ्यांक डिजिटल बनाउने काम भएको पनि उनले जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री गोविन्दबहादुर नेपाली, उपसभामुख बिना थापा, सांसद चम्पा खड्का, कृष्ण पाठक, नेकपाकी मुख्य सचेतक कुसुम बुढा, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कावा प्रमुख कल्पना हरिजनलगायतले शुभकामना दिएका थिए । चार वर्षसम्ममा गरेका कामलाई लिखित, मौखिक र कार्यक्रमको अडियो–भिडियसमेत बनाएर नगरपालिकाले प्रस्तुत गरेको थियो।