पर्यटकीय नगरी पोखराको विभिन्न भाग भएर बग्ने फिर्केखोला अतिक्रमण गरी खोलाघरभित्र निर्माण गरिएका संरचना ९ जेठभित्र हटाउन पोखरा महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेको छ। पोखरा– १८, सराङकोटस्थित अँधेरीकुनाबाट सुरु भएको फिर्केखेला महानगरका विभिन्न आठवटा वडाको बस्ती छिचल्दै करिब नाै किलोमिटरको यात्रा तय गर्दै पोखरा ६ र १७ नम्बर वडामा पर्ने फेवातालको ड्यामसाइनजिकैको गाईघाटबाट सिधै तालमा मिसिने गर्दछ । १८ नम्बरबाट सुरु भएको फिर्के २, ४, ५, ८, ७, ६ र १७ नम्बर वडा हुँदै फेवातालसम्म पुगेको छ।
सोही फिर्केखोलाको खोलाघर क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका स्थायी एवं अस्थायी भौतिक संरचनाहरू आफैँ हटाउन महानगरले बुधबार एक सूचना जारी गरेको हो। अँधेरीकुनाबाट लगभग सात किलोमिटर अघि गएपछि मालपोत कार्यालय कास्कीभन्दा केही माथि गैरीखेत भन्ने स्थानमा लगभग दुई किलोमिटर लामो बुलौदी खोलासमेत फिर्केमा मिसिन आएको छ।
महानगरको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी यसअघि पोल गाडेको सिमानाभन्दा भित्र पर्ने संरचनाहरू हटाउनका लागि सूचना जारी गरिएको पोखराका मेयर धनराज आचार्यले जानकारी दिए । तोकिएको समयसीमाभित्र संरचनाहरू नहटाए महानगर आफैँले भत्काउने र त्यसको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकीसरह असुल उपर गरिने आचार्यले बताए ।
महानगरले यसअघि साउन ०८० मा खोलाघरको नापजाँच गरी पोल गाडेको थियो। त्यसपछि कात्तिक ०८० मा ती संरचनाहरू हटाउन ३५ दिने सूचना जारी गरेको थियो । महानगरको सूचनापछि राजन रौनियारसहित १३ जनाले त्यसका विरुद्ध उत्प्रेषण परमादेशको माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गरेकोमा सूचनाउपर उत्प्रेषण र परमादेशको आदेश जारी गर्न नपर्ने फैसला आएपछि महानगरलाई अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू हटाउन कानुनी बाटो खुलेको थियो । अदालतको आदेशपछि ४ वैशाख ०८३ मा महानगरले जारी गरेको सूचनालाई समेत आधार मान्दै ९ जेठभित्र आफैँ संरचनाहरू हटाउन सरोकारवालाहरूका लागि सूचना जारी भएको हो ।
त्यसअघि महानगरपालिकाले साउन ०८० मा महानगरका सर्वेक्षक वासुदेव पौडेलको नेतृत्वमा खोलाघर छुट्याउनका लागि सीमांकन र रेखांकनको काम सम्पन्न गरेको थियो । अध्ययनपछि सोही टोलीले असोज ०८० मा दिएको नापजाँच प्रतिवेदनपछि महानगरले खोलाघरभित्र निर्माण गरिएका अस्थायी, स्थायी संरचना आफैँ हटाउन सार्वजनिक सूचना जारी गरेको हो ।
खोलाघरभित्र निर्माण भएका १६० संरचना पाँचदेखि ८० प्रतिशतसम्म खोलाघरभित्र सीमांकनका क्रममा खेलाघरभित्र १६० वटा भौतिक संरचना निर्माण भएको भेटिएको थियो । तीमध्ये संस्थागत अर्थात् सरकारी, सामाजिक संघसंस्था, आमा समूह, समाजघरलगायतका गरी २८ र व्यक्तिगत १३२ वटा छन् । संस्थागततर्फ स्थायी १८ र अस्थायी १० वटा रहेका छन् भने व्यक्तिगतमध्ये ९७ वटा कच्ची र ३५ वटा पक्की संरचना रहेका छन् । ती संरचनामध्ये पाँचदेखि ८० प्रतिशतसम्म खोलाघरभित्र रहेका टोली प्रमुख पौडेलले जानकारी दिए। निर्माण भएका संरचनामध्ये शतप्रतिशत खोलाघरभित्र नभेटिएको उनले जानकारी दिए । खोलाको सिमाना अतिक्रमणसँगै खोलाको वरिपरि निर्माण गरिएका घरको फोहोरसँगै शौचालय, नाला र फोहाेरपानी फाल्ने पाइपहरूसमेत सिधै खोलामा मिसाइएको पौडेलले बताए ।
खोलाघरको चौडाइ चारदेखि ४० मिटरसम्म
करिब नौ किलोमिटर लामो खोलाको चौडाइ विभिन्न स्थानमा फरक–फरक रहेको छ । खाेला कतै चार मिटर र कतै ४० मिटरसम्म फैलिएको टोली प्रमुख पौडेलले जानकारी दिए । ०३२ सालको नापीअनुसार खेलाघर छुट्याउने काम भएको उनले बताए । खोला सुरु भएको स्थान अँधेरीकुनाबाट कहीँ बढी कहीँ कम हुँदै अन्तिम विन्दु गाईघाटमा पुगेर ४० मिटर क्षेत्रमा फैलिएको छ। खोलाको कुल लम्बाइमध्ये करिब ६ मिटर मुख्य सहरी भाग हुँदै बगेको छ ।
५८४ स्थानमा पिलर गाडियो, २३९ स्थानमा चिह्न
सीमांकन र रेखांकनका क्रममा ५८४ स्थानमा पिलर गाडिएको छ। जमिनको बनावटसँगै संरचना बनेको स्थानहरूमा पिलर गाड्न सम्भव नभएपछि त्यस्ता २३९ स्थानमा चिह्न लगाइएको छ। सूचनामा पोल गाडिएभन्दा भित्रको संरचनाहरू भत्काउन भनिएको छ ।