अन्तर्राष्ट्रिय टी–२० आई सिरिज : नेपालले मलेसियालाई दुई विकेटले हरायो

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय महिला टोलीले बुधबार मलेसियालाई पहिलो अन्तर्राष्ट्रिय टी–२० आईमा दुई विकेटले हराएको छ । दुई खेलको टी–२० आई सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली मलेसियाले पहिलो ब्याटिङ गर्दै ६७ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा नेपालले १७.३ ओभरमा आठ विकेट गुमाएर ७१ रन जोडेको थियो । मलेसियाको पूरै इनिङ्स १६.५ ओभरमा समेटिएको थियो ।

नेपालको जितमा ओपनर सम्झना खड्काले सर्वाधिक ३२ रनको योगदान दिइन् । उनले ३९ बलमा दुई चौका प्रहार गरेकी थिइन् । लक्ष्य पछ्याएको इनिङ्समा चौथो क्रमकी खेलाडी रुवि पोद्दारले २२ बलमा १५ रनको योगदान दिइन् । सम्झना र रुविबाहेक अन्य कुनै पनि खेलाडीले गतिलो रन बनाउन सकेनन् । आठ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर विन्दु रावल र उपकप्तान पूजा महतो शून्यमा आउट भए । कप्तान इन्दु बर्मा र पूर्वकप्तान रुविना क्षेत्रीले समान १ रन जोडे । 

त्यसपछि कविता कुँवरले ३, सीता रानामगरले ५ तथा कविता जोशीले ६ रनको योगदान दिए । ब्याटिङका क्रममा ०.३ ओभरमै नेपालले पहिलो विकेटका रूपमा विन्दुलाई गुमाएको थियो । इनिङ्सको ९.१ ओभरमा नेपालले चार विकेट गुमाउँदा स्कोर बोर्डमा ४१ रन मात्र बनाएको थियो । नेपालले ४० देखि ४८ रनको योगफल बनाउँदा चार विकेट गुमाएको थियो । रुवि र सम्झनाले दोस्रो विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए । यही साझेदारी नै नेपालको जित आधार बन्यो । बलिङमा मलेसियाका बलरले उत्कृष्ट प्रदर्शन गरेका थिए । नुर नोरेफिन्डीले चार ओभरमा २१ खर्चेर तीन विकेट लिए । आस्या इलिसा र इसा हन्टरले समान दुई विकेट हात पार्दा नेपालको ब्याटिङ कमजोर बन्यो । इलिसाले १४ तथा हन्टरले १६ रन खर्चेका थिए । 

नेपालको कसिलो बलिङ
पहिलो ब्याटिङ गरेको घरेलु टोली मलेसियाविरुद्ध नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरेका थिए । मलेसियाले पहिलो विकेटका लागि ३.४ ओभरसम्म साझेदारी गरेको थियो । पहिलो विकेटका रूपमा हसिमको विकेट पतन भएको थियो । त्यसपछि मलेसियाको ब्याटिङ इनिङ्स सम्हालिन सकेन । नेपाली बलरले निरन्तर विकेट लिँदै जाँदा मलेसियाका सबै खेलाडी १६.५ ओभरमा आउट भए । बलिङमा पूजाले १३ रन खर्चेर सर्वाधिक तीन विकेट हात पारिन् । मनीषा उपाध्यायले १६ रनमा दुई र कविता कुँवरले १२ रनमा एक विकेट हात पारे । रिया शर्माले २.५ ओभरमा १३ रन खर्चंदै दुई विकेट लिइन् । मलेसियाको ब्याटिङम हन्टरले सर्वाधिक १० रन बनाइन् । नेपालले १५ अतिरिक्त रन दिएको थियो । 

See More On

सुझावित समाचार