नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न वडा तहलाई कडा निर्देशन दिएको छ। समयसीमाभित्र काम पूरा नगरे सम्बन्धित वडा सभापतिमाथि संगठनात्मक कारबाही हुन सक्ने चेतावनीसमेत पार्टीले दिएको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले देशभरका ६ हजार ७४३ वडा कार्यसमितिलाई पत्र पठाउँदै आगामी जेठ २१ गतेभित्र सदस्यता अद्यावधिक प्रक्रिया सक्न निर्देशन दिएका हुन्।
निर्देशनअनुसार वडा सभापतिहरूले मोबाइलको एप स्टोर वा गुगल प्ले स्टोरबाट नेपाली कांग्रेसको आधिकारिक मोबाइल एप डाउनलोड गरी लगइन गरेर सदस्यता अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
कांग्रेसले तोकिएको समयसीमाभित्र काम सम्पन्न नगर्ने वा प्रक्रियामा असहयोग गर्ने वडा सभापतिका हकमा विधानअनुसार वैकल्पिक प्रक्रिया अघि बढाइने स्पष्ट गरेको छ।
यस्तै, असहयोग गर्ने वडा सभापतिहरूको विवरण सम्बन्धित पालिका कार्यसमितिले संकलन गरी केन्द्रीय कार्यालयमा पठाउनुपर्ने व्यवस्थासमेत गरिएको पत्रमा उल्लेख छ।
